भरतपुरमा प्रतिष्ठाको लडाईं

जगन्नाथ फकाउन प्रधानमन्त्री देखि पूर्व प्रधानन्यायाधीशसम्म व्यस्त!

काठमाडौं। भरतपुर महानगरको प्रमुख पदका प्रत्याशी जगन्नाथ पौडेल सत्ता गठबन्धनका लागि ठूलो चुनौति बनेका छन्। उनले भरतपुर महानगरको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। भरतपुरमा सत्ता गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी रेनु दाहाललाई साझा उम्मेदवार बनाएको छ। रेनु त्यही महानगरकी निर्वतमान प्रमुख हुन्। उनलाई यसअघि पनि नेपाली कांग्रेसले आफ्ना दलका आकांक्षीलाई रोकेर रेनुलाई समर्थन गरेको थियो।

नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले अघिल्लो पटक माओवादी उम्मेदवार रेनु  दाहाललाई समर्थन गरेर जिताएकाले यसपटक उसले आफूलाई सहयोग गर्नुपर्छ भनिरहेका छन्। अघिल्लो पटक नै आफ्नो भाग खोसेर माओवादीलाई दिएको भनेर नेपाली कांग्रेसका नेता कार्यकर्ताले रोष पोखेका थिए। यसपटक उनीहरुकै दवाव र अनुरोधमा नेता पौडेलले उम्मेदवारी दिएको

Pressor

बताईएको छ।

पाँच दलीय सत्ता गठबन्धनले देशभरी नै सहकार्य गरे पनि धेरै स्थानमा प्रशस्त उम्मेदवारी परेको छ। आज उम्मेदवारी फिर्ता लिने दिन हो, त्यसैले सहमति विपरित उम्मेदवारी दर्ता गरेका नेतालाई उनीहरुको हैसियत अनुसारको दवाव पनि परिरहेको देखिन्छ। गठबन्धन दलका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेता उम्मेदवारी फिर्ता गराउने दवाव अभियानमा सक्रिय देखिन्छन्। 

भरतपुरमा भने परिस्थिति अर्कै छ। जगन्नाथ पौडेलले केन्द्रबाट दिईएको दवाव र अनुरोध स्वीकार नगरेपछि उनीमाथि ठूलै दवाव परिरहेको देखिन्छ। प्रधानमन्त्री शेरबहादुर देउवा देखि प्रचण्ड र सर्बोच्च अदालतका विवादाष्पद पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीसम्मले जगन्नाथ पौडेललाई निरन्तर दवाव दिईरहेको पौडेल समर्थकले बताएका छन्।

यतिले नपुगेर प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण र विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठलाई भरतपुर नै पठाएका छन्। उनीहरुले राज्य शक्तिको समेत प्रयोग गरेर पौडेललाई प्रभावित गर्न प्रयाश गरिरहेको बुझिएको छ। 

‘म बागी होइन’ पौडेल

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू कसैको विरुध्द बागी उम्मेदवार नउठेको बताईरहेका छन्। उनले भनेका छन्, ‘कृपया मलाई बागी भनेर नलेख्नुहोला है!’ उनले  आफू पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध नउठेको, भरतपुरमा कांग्रेसको उम्मेदवार नै नभएको हुनाले आफूलाई किन बागी भनिएको हो भनी प्रश्न गरेका छन्। आधिकारिक रूपमा पार्टी केन्द्रले आफ्नो उम्मेदवारी अस्वीकार गरे पनि कांग्रेसको उम्मेदवार आफू मात्रै भएको पौडेलको भनाई छ।

पौडेल २०४९ मा भरतपुरको उपप्रमुखमा निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा २०५४ मा राष्ट्रिय सभा सदस्य भएका चुनिएका थिए। अहिले भने भरतपुरको प्रमुखमा सत्ता गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई उठाएपछि असन्तुष्ट बनेका नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

देशका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमा गठबन्धनकै तर्फबाट दोब्बरभन्दा बढी अर्थात् ७४ हजार ७ सय २४ जनाले उम्मेदवारी दिएका छन्।

पालिका प्रमुखमा ७ सय ५३ पद भए पनि गठबन्धन दलबाटै १ हजार ८ सय ७९ जनाको उम्मेदवारी परेको छ। एक पदमा एक मात्र उम्मेदवार उठाउने समझदारी गरेका सत्तारूढ दलहरूले आधिकारिक रूपमै झन्डै तीन गुणा उम्मेदवार उठाएका छन्।

प्रचण्डको प्रतिष्ठाको लडाईं

भरतपुर महानगरपालिका यतिबेला प्रचण्डको प्रतिष्ठाको बिषय बनेको छ। उनकै अडानले नेपाली कांग्रेसका सभापति देउवा भरतपुर बाजी लगाउन तयार भएका हुन्। आफ्नो पार्टीको बलियो पकड रहेको भनिएको भरतपुर दोस्रो पटक पनि माओवादीलाई नै सुम्पिएपछि स्थानीय कांग्रेसजन क्रुध्द भएको देखिन्छ। भरतपुरमा आफ्नो उपस्थिति हुननसकेमा राष्ट्रिय राजनीतिमै पकड कमजोर हुने प्रचण्डको विश्लेषण रहेको बुझ्नसकिन्छ। भरतपुर गुमेको अवस्थामा आगामी संसदीय निर्वाचनमै गम्भीर असर पर्न सक्ने माओवादी नेताहरुको बुझाई छ। यही कारण प्रचण्ड आफैं अघि सरेर स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन सक्रिय भएका छन्। प्रचण्डले आफूलाई भरतपुरमाथिको दावी छाड्न र अरु अवसर लिन आश्वासन दिएको स्वयं पौडेलले नै खुलासा गरेका छन्।

‘निर्वाचनका बेला देशभरको शान्तिसुरक्षामा ध्यान दिनुपर्ने गृहमन्त्री नै यहाँ (भरतपुर) आएर उम्मेदवारको स्वतन्त्रतामाथि दमन गरिरहनुभएको छ,’ कांग्रेस पूर्वसभापति टीकाराम न्यौपानको टिप्पणी छ।

कानुन व्यवसायी गोपी सिग्देलले पौडेलको उम्मेदवारीलाई प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले सत्ताको भविष्यसँग जोडेको सम्वाददाताहरुसँग बताएका छन्। ‘पौडेलले चितवनका कांग्रेसीलाई न्याय दिन उम्मेदवारी दिनुभएको हो तर उम्मेदवार हुन पाउने नागरिकको अधिकार कुण्ठित गर्दै न्याय मार्न राज्य शक्ति नै लागेको देख्दा अचम्म लागेको छ,’ उनको भनाई छ।

गृहमन्त्री खाँण र विना बिभागीय राज्यमन्त्री श्रेष्ठले जगन्नाथ पौडेललाई बारम्बार भेटिरहेका छन्। त्यस्तै उनको उम्मेदवारीका प्रस्तावक र समर्थकलाई समेत फिर्ता लिनका लागि माहोल बनाउन निरन्तर दबाब दिइरहेका छन्। यता पौडेलले भने, अनुशासनको सीमा नाघेको हो भन्ने नै लाग्छ भने आफूमाथि कारबाही गर्न सक्ने व्यवस्था छ, त्यसो गरे आफूलाई कुनै आपत्ति र गुनासो नहुने स्पष्ट गरेका छन्।

नेपाली कांग्रेस चितवनका पूर्व सभापतिहरू न्यौपाने र कृष्णलाल सापकोटा, पूर्वसांसदहरू भीमबहादुर श्रेष्ठ र रामकृष्ण घिमिरे, महासमिति सदस्य मीना खरेल समेत पौडेलको पक्षमा उभिएका छन्। उनीहरुलाई पनि गृहमन्त्रीको सरकारी टोलीले दवाव दिईरहेको बुझिएको छ। 

गृहमन्त्री खाँणले जगन्नाथ पौडेलको उम्मेदवारी जसरी पनि फिर्ता गराउनुपर्ने बाध्यता रहेको स्थानीय नेता कार्यकतासँग बताएका थिए। उनको भनाई उदृत गर्र्दै एक नेताले भने, ‘भरतपुरमा माओवादीलाई प्रमुख पद दिइएन भने गठबन्धन टुट्छ, अहिले हामीले माओवादीसँग गठबन्धन ग¥यौं भने एमाले कमजोर हुन्छ, १० वर्षसम्म एमालेको सत्तामा फर्किने सम्भावना सकिन्छ।’
कांग्रेस समर्थकबाट घेरिएका जगन्नाथ पौडेल प्रधानमन्त्री, प्रचण्ड र अरु नेताबाट आउने हरेक फोनमा एउटै जवाफ फर्काइरहेका छन्, ‘म अघि बढिसकेको छु, मेरो निर्णय पुनर्विचार हुँदैन।’

पौडेलका पक्षमा सक्रिय नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले यस पटक पौडेलको उम्मेदवारी आवेगमा आए जस्तो नलागेको बताउँछन्। उनी भन्छन्, ‘पौडेलको उम्मेदवारीमा चितवन कांग्रेसको भावना जोडिएको छ, यो आवेगको अभिव्यक्ति मात्र होइन।’ (तस्बीर सामाजीक सञ्जालबाट साभार)
 

 

प्रतिक्रिया