क्रिकेट खेल्न दिल्ली भागेका नेपाली अलराउण्डर

गत चैतमा सामाजिक सञ्जालमा नेपालका एक युवा अलराउन्डरको भिडियो भाइरल भयो। ११ बलमा १ चौका र ३ छक्कासहित ३१ रनको इनिङ्स खेलेका ती युवा अलराउण्डर भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी जस्तै हेलिकोप्टर सट प्रहार गर्ने क्षमता राख्छन्। 

ती युवा क्रिकेटर हुन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी।

पपुवा न्युगिनीविरूद्ध टि–२० बाट अन्तर्राष्ट्रिय खेल–जीवनको सुरुआत गरेका आदिलले डेब्यू खेलमै अविस्मरणीय प्रदर्शन गरेका थिए। होचो कद, सानो शरीर तर फूर्तिलो देखिने उनी त्यो खेलमा अनुभवी दीलिप नाथ र आरिफ शेखभन्दा अगाडि पाँचौ नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका थिए। जहाँ उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर ७६ रनको ऐतिहासिक साझेदारी गरे। 

आदिलले १९औं ओभरमा ३ छक्कासहित २५ रन जोडे। उनले दीपेन्द्रसँग मिलेर यही एक ओभरमा ३२ रनको साझेदारी पनि गरे। जुन साझेदारी अहिले नेपालको टि–२० अन्तर्राष्ट्रिय खेलमा एकै ओभरमा सर्वाधिक बन्न पुगेको छ।   

त्यो एउटै इनिङ्सले उनको परिचय बदलिएको छ। राष्ट्रिय टोलीमा स्थान बनाउन पनि उनलाई यही इनिङ सबैभन्दा ठूलो माध्यम बन्यो। यही वैशाखमा जिम्बाबे ‘ए’ विरूद्ध हुने तीन एकदिवसीय र टि–२० शृंखलाका लागि उनलाई राष्ट्रिय टोलीमा स्थान दिइएको छ। उनको उपस्थितिले नेपाली क्रिकेटमा देखिएको ७ नम्बरको फिनिसरको अभावलाई धेरै हदसम्म पूर्ति गर्ने सम्भावना प्रबल छ। 

आदिलको खेल जीवन यतिबेला जति लोभलाग्दो देखिन्छ, यसको पछाडि कडा मिहिनेत र संघर्षको कथा लुकेको छ। उनको परिवार पेशाले व्यापारी हो र उनी कलैयाको सिम्रौनगढ–३ का स्थायीवासिन्दा हुन्। परिवारका अन्य सदस्यलाई क्रिकेटप्रति खासै लगाव छैन। त्यसैले उनले आफ्नो बच्चादेखिको सपना पूरा गर्न

All rr

एक पल्ट घरबाट भाग्नु पर्यो। 
 
सानैदेखि आदिल निरन्तर अभ्यास गरिरहन्थे तर उनको प्रतिभाको पहिचान हुन सकेको थिएन। ‘टेनिस’ खेल्ने गाउँका एक जना दाइ मनिर खानले एकदिन उनलाई अभ्यास गरिरहेको देखे। खानलाई त्यतिबेला टेनिस बल फ्याँक्ने मान्छेको खाँचो थियो। आदिललाई पनि आफूले फ्याँकेको बल प्रहार गर्दिने मान्छेको। उनीहरु दुवैलाई ‘ढुङ्गा खोज्दा देउता मिले’ झै भयो। र, क्रिकेटका कारण दुवैको दोस्ती झाङ्गियो। 

‘उहाँले अभ्यास गर्न बल फ्याँक्ने मान्छे पाउनु भएको थिएन। मैले बल फ्याँकिरहेको देख्नु भएको रहेछ। एकदिन अभ्यासका लागि बोलाउनु भयो। यतिबेला उहाँले राम्रो बलिङ गर्दो रहेछौं भन्नुभयो र क्रिकेट खेल्न प्रेरणा दिनुभयों,’ उनी पूरानो कुरा सम्झन्छन्।  

आदिलको परिवार उनलाई खेल मैदानमा नभएर स्कुलमा बढि समय बिताएको हेर्न चाहन्थ्यो। तर, उनका कलिला औंला कलमभन्दा बलको गतिलाई नापिरहेको हुन्थ्यो। क्रिकेटप्रति उनको लगाव देखर परिवारका अन्य सदस्य दिगदार भइसकेका थिए। सुरुमा परिवार जसरी पनि उनलाई क्रिकेट खेल्नबाट रोक्न चाहन्थ्यो। 

क्रिकेटमा भर्खर पाइला टेकेका आदिललाई यसैमा रमाउने बानी लागिसकेको थियो। उनको आँखामा किताबका अक्षरभन्दा क्रिकेटको बल र ब्याट नाचिरहेको हुन्थ्यो। 

परिवारको दबाब बढ्न थालेपछि १२ वर्षको उमेरमा उनी घर छाडेर भारतको राजधानी नयाँ दिल्ली भागे। ‘मसँग खल्तीमा पैसा थिएन। कहाँ जाँदै छु भन्ने पनि थाहा थिएन। बाटोमा एकजना दाइले कहाँ जाने भनेर सोध्नु भयो। मैले तपाई कहाँ जानुहुन्छ भनेर सोधे। उहाँले दिल्ली जाने जवाफ दिएपछि म पनि दिल्ली लागेँ,’ उनी भन्छन्। 

बाटोमा ती व्यक्तिले आदिललाई घर फर्किन सुझाव नदिएका होइनन्। तर, आदिलले आफू क्रिकेट खेल्न घरबाट भागेको र एकेडेमी भर्ना गर्दिन आग्रह गरे। आदिलको यही जिद्दीपन देखेर उनले दिल्लीको एकेडेमी पुर्याइदिए। 

एकेडेमी पुगेको १५ दिनमा अभ्यास गर्ने क्रममा आदिलको हातमा चोट लाग्यो। यसपछि उनी घर फर्किए। क्रिकेटप्रति आदिलको पागलपन देखेपछि बिस्तारै घरका अन्य सदस्य गल्दै गए। र, पछिल्लो समय सबैले साथ दिए। 

आदिल सुरुमा तीव्र बल फ्याँक्थे। उनी कहिले काहीँ बिहारमा गएर खेल्थें। ठूला–ठूला प्रतियोगितामा पनि जम्न थालेपछि नेपालमै करिअर बनाउने सोचले उनी वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टरमा आवद्ध भए। 

यसै क्रममा उनको भेट सुदीप चौधरीसँग भयो। सुदीपसँगको भेटपछि आदिल बलिङमा मात्र नभइ ब्याटिङमा समेत केन्द्रित हुन थाले। रौतहटमा भएको एउटा खेलमा उनले एक्लै ९० रनको इनिङ खेले। उनको ब्याटिङबाट प्रभावित सुदीपले उनलाई ठूलो–ठूलो सट हान्ने टिप्स दिए। र, सुदीपले यही सटले उनलाई छिट्टै सिनियर टोलीमा स्थान बनाउने मन्त्र सुनाए।  

‘बलिङमा जति मिहिनेत गर्थे, त्यसरी नै ब्याटिङमा पनि जम्नु थियो। त्यसैले मैले ब्याटिङमा पनि समय दिन थाले। दुवैमा सफल भए मेरो लक्ष्य पूरा हुन्छ जस्तो लाग्थ्यो,’ उनले भने।

धनगढी प्रिमियर लिग (डीपीएल) २०१९ आयोजनाको संघारमा मुम्बई र कलैयाबीच सिरिज भएको थियो। एकदिन सिवाईसी अत्तरियाका मालिक तथा तत्कालिन यू१९ का प्रशिक्षक विनोद दास पनि सोही खेल हेर्न कलैया पुगेका थिए। कलैयालाई खेल जित्न ५ ओभरमा ७५ रन आवश्यक थियो। तर, ७ विकेट गुमाइसकेको अवस्था थियो। यस्तो अवस्थामा आदिलले खेल जिताएपछि अत्तरियाले उनलाई डीपीएलको लागि खरिद गर्‍यो। तर, खेल्न पाएनन्। उक्त टिमले उपाधि जित्दा आदिल बेञ्चमै सिमित भए।

All RRRउनलाई चिनाउने प्रतियोगिता भने गत पुषमा आयोजना भएको यू–१९ राष्ट्रिय प्रतियोगिता हो। तत्कालिन प्रदेश नम्बर–२ ले सुदूरपश्चिम प्रदेशबाट पाएको २ सय ९१ रनको विशाल लक्ष्य ५ बल अगाडिनै ८ विकेटको क्षतिमा पूरा गर्‍यो। यतिबेला पनि प्रदेश–२ को ४० ओभरमा २१४ रन हुँदा ८ विकेट गुमिसकेको थियो। यस्तो अवस्थामा आदिलको ब्याटिङले सुदुरपश्चिमका अर्जुन साउदको शतक (११६ रन) छायाँमा पर्‍यो।

आदिलसँगै अमित यादव र राष्ट्रिय टिमबाट खेलिसकेका गुल्शन झाले राम्रो ब्याटिङ गरेपछि प्रदेश २ ले २९१ रनको लक्ष्य ४९.१ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गरेको थियो। आदिलले उक्त खेलमा ४३ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गर्दै अविजित ८७ रन बनाए।

९२ रन हुँदा ५ विकेट गुमाएको बेला अमित यादव र गुल्शन झाले छेटौं विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए। ३६औं ओभरमा टिमको स्कोर १८५ रन हुँदा गुल्शन ५३ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा ४६ रन बनाएर आउट भए।

त्यसपछि अर्को ओभरमा अमित पनि ४९ रनमा आउट भएपछि प्रदेश २ ले १८९ रनमा सातौं विकेट गुमाए। त्यसपछि संसद मन्सुरी पनि ७ रन बनाएर आउट भए। तर, आदिलले प्रदिप पासवानसँग नवौं विकेटका लागि अविजित ७८ रनको साझेदारी गर्दै जित दिलाए।

सोही प्रदर्शनले युएईमा भएको यू–१९ एसिया कपमा उनी जुनियर टोलीमा समावेश भए। तर, घरेलु प्रतियोगितामा पाएको सफलतालाई उनले विदेशी भूमिमा कायम राख्न सकेनन्। उनी नेपालले खेलेको पहिलो खेलमा बंगलादेशसँग १ रनमा आउट भए। यस्तै, श्रीलंकासँग ७ रनमा आउट भए। कुवेतविरूद्धको अन्तिम खेलमा भने ४२ बलमा २ चौका र ५ छक्कासहित ४९ रन बनाए। युएईबाट फर्केलगत्तै प्रधानमन्त्री कप टि–२० राष्ट्रिय प्रतियोगिता भयो। 

उनले विभागीय टोली एपीएफविरूद्ध १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रन बनाए। यही खेलले उनलाई राष्ट्रिय टोलीमा डेब्यू गरायो। नेपालले त्रिकोणात्मक टि–२० सिरिज जित्दा आदिलले ७ नम्बरमा फिनिसरको भूमिकामा राम्रो छाप छोडे। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, मलेसिया र पपुवा न्यू गिनी बीचको त्रिकोणात्मक टि–२० सिरिजको सुरूआती दुई खेलमा भने उनी टिममा अटाउन सकेनन्। 

पपुवा न्यू गिनीविरूद्धको खेलमा भने उनलाई कुशल मल्लको स्थानमा मौका दिइएको थियो। क्रिकेट बृत्तमा चर्चामा आएको ६ महिना नबित्दै डेब्यूको मौका पाएका उनले राष्ट्रिय टिममा आएको सुनौलो अवसर खेर जान दिएनन्। 

पाँचौ नम्बरमा ब्याटिङको मौका पाएका उनले खेलमा ११ बलमा ३१ रन जोडे। जसमा उनले १ चौका र ३ छक्का प्रहार गर्न सफल भए।

उनी मैदान छिर्दा १५ ओभर चलिरहेको थियो। नेपालले ३ विकेट गुमाएर १२३ रन जोडेको थियो। त्यसपछि उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे। 

आदिलले १९औं ओभरमा लगातार तीन छक्का हिर्काएका थिए। पपुवा न्यू गिनीका नौसेना पोकनाविरूद्ध उनले दोस्रो बलमा पहिलो छक्का हिर्काएका थिए।

लगत्तैको बल नो-बल हुँदा त्यसमा पनि उनले छक्का हिर्काए। त्यसपछि फ्रिहिटमा उनले भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी जस्तै हेलिकोप्टर सट प्रहार गर्दै छक्का हिर्काए। पहिलो बलमा पनि चौका र चौथो बलमा तीन रन लिएका उनले ओभरको चार बलमा २६ रन जोडेका थिए। 

अन्सारी र दीपेन्द्रको आक्रामक ब्याटिङसँगै नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्न सफल भयो। जवाफी ब्याटिङ गरेको पपुवा न्यू गिनीविरूद्ध करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए। खेल नेपालले ३७ रनले जित्यो।

अन्सारीले मैदान छिर्दा आफ्नो ‘नेचुरल खेल’ खेल्ने सोचेर गएको बताउँछन्। ‘गाउँ घरमा दाइहरुसँग जस्तो खेल्थे, त्यसरी नै राष्ट्रिय टोलीमा खेलें। मलाईं विदेशी खेलाडीसँग खेलिरहँदा गाउँघर तिरै खेलिरहेको जस्तो महसुस भएको थियो। त्यसैले राम्ररी खेल्न सके,’ उनी भन्छन्। 

नेपाली राष्ट्रिय टोलीमा ७ नम्बरमा फिनिसरको भूमिकालाई न्याय दिने खेलाडी कमै छन्। तर, पछिल्लो समयमा आदिलले सम्भावना देखाएका छन्। उनीमाथि प्रशिक्षक पुबुदु दासानायकेले पनि भरोसा गरेका छन्। तर, राष्ट्रिय टोलीमा करण केसी र सोमपाल कामीसँग देव खनालले पनि फिनिसरको भूमिकामा आफूलाई अब्बल ठहर्याउने प्रयास गरिरहेको अवस्थामा आदिलको सम्भावना कति रहन्छ? त्यो भविष्यले मात्र होइन, उनको ब्याटले पनि बताउने छ।  

प्रतिक्रिया