दोलखामा मच्छिन्द्रनाथको रथजात्रा (तस्विरहरु)
संस्कृति

दोलखामा मच्छिन्द्रनाथको रथजात्रा (तस्विरहरु)

 

देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामना गर्दै दोलखा जिल्लाको ऐतिहासिक सहर दोलखामा यस वर्षको मच्छिन्द्रनाथको रथ तान्ने जात्रा चलिरहेको छ ।

अभयपुरको नाममा कुनै बेला छुट्टै राज्यको अस्तित्व बोकेको दोलखा सहरमा परम्परागत रुपमा मनाईँदै आएको मच्छिन्द्रनाथको रथयात्रा चैत पूर्णिमाको दिन मच्छिन्द्रको मूर्तिलाई दूधले नुहाएपछि सुरु भएको मानिन्छ । शनिवार मच्छिन्द्रको मूर्तिलाई दूधले नुहाएर जात्रा सुरु भएको हो । आइतवार मच्छिन्द्रको मूर्तिलाई रथारोहण गरी सोमवारदेखि रथ तान्न सुरु गरिएको छ ।  

परम्पराअनुसार देशमा खडेरी नपरोस्, अनिकाल नपरोस्, देश र जनतालाई कुनै विपत्ति नपरोस् भन्ने कामना गर्दै आर्याबलोकेश्वर अथवा लोकेश्वर करुणामयको आराधनास्वरुप रथलाई एक सातासम्म सहरको विभिन्न टोलको परिक्रमा गराउने प्रचलन छ । मल्लकालीन राजा जयवसुदेवले प्रचलनमा ल्याएको मानिने सो जात्रा नेपाल संवत् ७०१ बाट शुरु भएको स्वर्णपत्रमा अङ्कित एउटा आलेखमा उल्लेख छ ।

पहिला नौ तलामा महङ्गो सजावटका साथ निर्माण गरी तानिने सो रथ हिजोआज कालिञ्चोक युवा क्लवको पहलमा मात्र चार तलामा निर्माण गरी तान्ने गरिएको छ 

चैत पूर्णिमाका दिन करुणामय मच्छिन्द्रनाथको सुनको मूर्तिलाई दूधले स्नान गरिन्छ । यसलाई स्थानीय भाषामा ‘हपा’ गरेको भनिन्छ । ‘हपा’ गर्ने दिन स्थानीय महिलाहरू आफ्नो इच्छाअनुसार व्रत बस्ने गर्दछन् । पूर्णिमाको तेस्रो दिनदेखि विभिन्न सात टोलमा स्थानीय बाजागाजासहित रथ तानेर पु¥याउने चलन छ । रथलाई पहिलो दिन नकछेँ टोल, दोस्रो दिन कोर्छे टोल, तेस्रो दिनदेखि सातौँ दिनसम्म क्रमशः टसिचा, माथिल्लो टोल, दुङ्गल, पिङ्गल, डोकलुङ्गा टोल हुँदै आठौँ दिन पुनः नकछेँ टोलमा पु¥याई एक वर्षका लागि जात्रा सम्पन्न गरिन्छ ।

रथ तान्ने क्रममा प्रत्येक टोलमा छुट्टाछुट्टै गुठियारद्वारा रथमा पूजाआजा गरेपछि साँझ रथलाई तानेर अर्को टोलमा पु¥याइन्छ । सहरका अशक्त तथा रोगी भक्तजनले समेत घरमै बसी दर्शन गर्न पाउन भनी रथलाई टोलटोलमा परिक्रमा गराएको स्थानीय बासिन्दाहरू बताउँछन् । आफ्नो टोलमा रथ तानेर ल्याएको दिन आफन्तहरूलाई भोज खुवाउने गरिन्छ ।

यो जात्रा बिचमा १६ वर्ष बन्द भएर २०५५ सालदेखि लगातार चल्दै आएको छ । जिल्लाको उत्तरी क्षेत्रस्थित लापिलाङ गाउँबासीलाई जग्गा उपलब्ध गराएर गुठीको व्यवस्था गरी त्यसबाट प्राप्त आयबाट मच्छिन्द्रनाथको रथयात्राको चलन चलाएको विभिन्न प्रमाणहरू पाइन्छ । 

करिब ६० डिग्रीको उकालो र ओरालोमा तानिने यो रथयात्रालाई मुलुककै नौलो मानिन्छ । दोलखामा प्रचलित रथयात्रा दोलखाबाटै राजधानी भित्रिएको दावी दोलखाको संस्कृतिका अध्येता शान्तकृष्ण श्रेष्ठको दावी छ ।

शव्द/तस्विरः शम्भु गौतम
दोलखा

प्रतिक्रिया