काठमाडौं। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालमा बन्न लागेको सडकका लागि जर्मनी प्रविधिको मेशिन ‘वेटजीन’ प्रयोगमा आउने भएको छ।

हाल मेसिन भारतको पुनामा निर्माण भइरहेको सडक विभागका पूर्व महानिर्देशक तुलसी सिटौलाले दृश्यटिभीलाई जानकारी दिए। सिटौला एमसीसीअन्तर्गत सडक परियोजनाका योजनाकार हुन्। एमसीसी परियोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ जिल्लामा पर्ने धानखोलादेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक खण्ड निर्माण हुन लागेको छ। आधुनिक प्रविधिअन्तर्गत सडक निर्माण हुने कारण एमसीसीले तोकेको समयमा काम पुरा गरिसक्ने उनले जानकारी दिए।

‘यो परियोजना प्रविधि मैत्री भएका कारण यसमा धेरै कामदार चाहिँदैन,’ उनले दृश्यटिभीसँग भने, ‘तोकिएको समयभन्दा धेरै अगाडि काम पुरा भइसक्छ।’

एमसीसीको टिम पुनामा निर्माणाधीन मेशिनको निरीक्षणका लागि केही समयअगाडि भारत पुगेको थियो। यही प्रविधिअन्तर्गत भारतको बनारसमा पनि बाटो निर्माण भइरहेको छ। एमसीसी टिमले बनारसमा बनिरहेको बाटोको पनि अध्ययन गरेको थियो।

मेशिन ८ करोडको लागतमा खरिद गर्न सकिने सिटौलाले जानकारी दिए। ‘मेशिन धेरै महंगो होइन, ८ करोडमा आउँछ। ग्लोबल टेण्डरबाट छानिने ठेकेदारहरुले भारत वा अन्य देशबाट यो मेशिन खरिद गरेर ल्याउन सक्छन् ,’ उनले भने।

बाटो बनिसकेपछि ७७ किलोमिटरको दूरी ७५ मिनेटमा छोटिने उनको भनाई थियो। सडक तीन लेनको बन्ने र १५ वर्षसम्म मर्मत गर्न नपर्ने पनि उनले जानकारी दिए।

प्रतिक्रिया