तपाईले ‘सुपरम्यान’ र ‘स्पाइडरम्यान’ को नाम धेरै सुन्नु भएको होला। ‘एगम्यान ’ को नाम सुन्नु भएको छ? सम्भवत छैन होला?

तर, भारतमा एक जना यस्ता व्यक्ति छन्, जो ‘एगम्यान’ को उपनामले चिनिन्छन्। उनी ‘शक्तिमान’ जस्तो उड्न त सक्दैनन्। तर, मानवीय कार्यले विस्तारै सबैको मन जित्दै आइरहेका छन्। हरि किशन वाल्मिकी, भारतमा ‘एगम्यान’ को उपनामले चिनिने गर्छन।

उनले अनाथ बालबालिका तथा बृद्धबृद्धाका लागि पोषण खानेकुराको अभियान चलाएका छन्, जुन अहिले भारतमा मात्र नभएर मेक्सिको र ताइवान हुँदै नेपालमा पनि विस्तार भएको छ। कोभिड–१९ का कारण विश्वभरी पोषण खानेकुराको महत्व बढीरहेको छ। यसै कारण यतिबेला उनले सुरु गरेको कामले विस्तारै विश्वव्यापी चर्चा पाउन थालेको छ।

हरि किशन, भारतको हैदराबादस्थित सिकन्दरावादका स्थायी वासिन्दा हुन्। उनले आफ्नो भाईहरूसँग मिलेर ‘एग बैंक’ अर्थात अण्डा बैंकको स्थापना गरेका थिए। उनको यो विचार अहिले विश्वव्यापी बन्ने अभियानमा छ। हरि किशन पेशाले पर्यटन व्यवसायी हुन्। तर, समाजसेवा उनको रगतमा मिसिएको छ। उनको पिता वेङ्कटा रामनप्पा बाल आश्रममा हुर्किएका थिए।

उनका पिता ४ वर्षको दुधे बालक हुँदा सौतेनी आमाले भिक माग्नका लागि बाटोमा छोडिदिएकी थिइन। तर, एक जना ब्रिटिश प्रहरी अधिकारीलाई माया लागेपछि उसले ती बालकलाई बाल आश्रममा छोडिदिएको थियो र उसको पढ्ने लगायत सबै खर्च उठायो। ती बालक पछि गएर डाक्टर बने। सरकारी जागिरमा होम्मिए। उनी अवकाश प्राप्त हुँदा भारत सरकारको ‘आइएएस’ अफिसर थिए।

रामनप्पाका ७ छोराछोरी मध्ये हरि किशन हुन्। उनलाई सानैदेखि पिताले भन्ने गर्थे ‘तिमीहरू करोडपति बन्ने सपना नदेख, बरु दिनको ४ छाक खान खान पाइरहेका छौं भने एक छाक खाना ती गरिबहरूलाई बाँड, जसले दिनमा एक छाक खाना खान पाइरहेका छैनन्।’ भारतमा कुपुषोणका कारण दिनहुँ हजारौं मानिसले ज्यान गुमाइरहेका छन्। यसमा पनि हैदराबादमा अभावमा बाँचिरहेका मानिसको अवस्था देखेपछि हरि किशनलाई ‘एग बैंक’ स्थापना गर्ने जुक्ति सुझ्यो।

उनले विशुद्ध समाजसेवा गर्ने उद्देश्यले सन् २००३ मा पहिले वाल्मिकी आश्रम स्थापना गरे, जहाँ घरबारविहिन बालबालिका र बृद्धबृद्धा बसोबास गर्छन। ‘एग बैंक’ खोल्ने ‘आइडिया’ उनलाई २०१७ मा सुझेको थियो।

पहिले त उनलाई आफ्नो ‘आइडिया’ बुझाउन हम्मे–हम्मे परेको थियो। तरपछि विस्तारै सबैले बुझ्दै गए र ‘कन्भिन्स’ पनि भए। अहिले भारतमा ३० वटा ‘एग बैक’ खुलिसकेको छ। छिमेकी भएको हुनाले नेपाल सधै उनको दिमागमा हुन्थ्यो।

केही दिनअघि नेपाल आएका हरि किशन भन्दै थिए, ‘मानिसहरू बुढ्यौलीमा केटाकेटी जस्तै हुन्छन्। उनीहरूलाई न्युट्रिसनको आवश्यकता पर्ने गर्छ। र, ती न्युट्रिसन एउटै अण्डाले पनि धेरै पूर्ति गर्नसक्छ।’ अहिले रोटरी क्लब अफ पाटन, मिडटाउनको सहयोगमा नेपालमा ५ वटा ‘एग बैक’ खुला भइसकेको छ।

यस्तै, मेक्सिकोमा ५ र ताइवानमा २ वटा ‘एग बैंक’ खुलेका छन्। हरि किशनको योजना छ, अर्को वर्ष बंगलादेशमा पनि ‘एग बैंक’ को सुरुवात गर्ने। हरि किशनले गत वर्ष ‘म्याराथन’ जस्तै हैदराबादमा ‘एगाथन’ को आयोजना गरेका थिए। जसमा एक दिन १ लाख अण्डा जम्मा भएको थियो।

उनी एक जना व्यक्तिलाई पौष्टिक आहारका लागि सातामा ३ वटा अण्डा आवश्यक पर्ने बताउँछन्। उनको निकट भविस्यको योजना छ, ‘एम्बुलेन्स’ जस्तै ‘एगुलेन्स’ को निर्माण गर्ने, जसले गर्दा पौष्टिक आहार कमि भएका व्यक्तिलाई घर–घरमा गएर अण्डा प्रदान गर्ने। यसका लागि सरकार, प्राइभेट सेक्टर र विशेष गरेर पोल्ट्री फर्मका मालिकहरूको योगदान आवश्यक पर्ने उनको भनाई छ।

छैन त गजब, ‘एगम्यान अफ इन्डिया’ को सपना!

 

प्रतिक्रिया