प्रा. डा. सुरेशराज शर्मा

पूर्वउपकुलपति काठमाडौं विश्वविद्यालय

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माले जीवनको ८२ औं वसन्त पार गरिसकेका छन् । तथापि, शैक्षिक क्षेत्रमा उनको क्रियाशीलता उस्तै छ ।

केही वर्षअघि मात्र शर्माकै अगुवाइमा सिटिइभिटीको सम्बन्धनमा सिन्धुलीमा एउटा प्राविधिक स्कुल सञ्चालन गरिएको छ, जहाँ १ लाख १७ हजार मात्र खर्च गरेर डिप्लोमा इन्जिनियरिङको पढाइ पूरा गर्न सकिन्छ ।

शिक्षा व्यापार होइन, यो त सेवा भन्ने विचारका पक्षपाती शर्मा शिक्षालाई गुणस्तरीय र सबैको पहुँचमा पु¥याउनुपर्ने धारणा राख्छन् । शर्माको कुशल नेतृत्वमा काठमाडौं विश्वविद्यालयले गुणस्तरीय शिक्षामा फड्को मारेको भन्दा अत्युक्ति हुँदैन ।

काठमाडौं विश्वविद्यालयमा २२ वर्षसम्म उपकुलपतिका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेर सात वर्षअघि रिडायर्ड भएका शर्मा अझै पनि शैक्षिक उन्नयनकै खातिर लागिपरेका छन् ।

२०४६ सालमा प्रजातन्त्र स्थापना भएपछिको खुला परिवेशमा नयाँ शैक्षिक संस्था खुल्ने क्रम ह्वात्तै बढ्यो । २०४७ सालमा नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री भएका बेला काठमाडौं विश्वविद्यालयको अवधारणाबारे छलफल सुरु भएको थियो ।

२०४८ सालको आमनिर्वाचनपछि निर्वाचित गरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालामा काठमाडौं विश्वविद्यालय सम्बन्धी ऐन संसद्को पहिलो बैठकबाट पारित भएको थियो ।

शर्माको अनुभवमा तीन दशकको अवधिमा विभिन्न आरोह–अवरोह पार गर्दै काठमाडौं विश्वविद्यालय अहिलेको अवस्थामा आइपुगेको हो । ‘काठमाडौं विश्वविद्यालय स्थापनाको केही वर्षसम्म त हामीले भाडाको घरमा प्रशासनिक तथा शैक्षिक कार्यक्रम सुरु ग¥यौं । पछि मात्र धुलिखेलमा सरेका हौं,’ उनी भन्छन् ।

अहिले काठमाडौं विश्वविद्यालय मुलुकभित्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत चिनिइसकेको उनको धारणा छ । शर्माको उत्तराधिकारीका रुपमा डा. रामकण्ठ माकजूले दुई कार्यकाल उपकुलपतिको नेतृत्व वहन गरिसकेका छन् । अहिले भोला थापाले काठमाडौं विश्वविद्यालयको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

भौतिक संरचना तथा शैक्षिक रुपमा काठमाडौं विश्वविद्यालयलाई अहिलेको अब्बल दर्जामा ल्याउन सुरुका दिनमा निक्कै मेहनत गर्नुपरेको सम्झना गर्छन् प्रा. डा. शर्मा । काठमाडौं विश्वविद्यालयमा कार्यरत रहँदाका कठिन यात्राका संस्मरणलाई समेट्दै १० वर्षअघि नै जगदम्बा प्रेसबाट उनको कृति प्रकाशित भइसकेको छ ।

पछिल्लो समय उनी शैक्षिक क्षेत्रमा आफूले बिताएको चार दशकभन्दा बढी समयको यात्रा अनुभवलाई अंग्रेजी कृतिका रुपमा निकाल्ने तयारीमा छन् । शर्माको रिटायर्ड जीवन, काठमाडौं विश्वविद्यालयको यात्रा र आगामी योजनाबारे दृश्य टिभीले शर्मासँग गरेको कुराकानी :

प्रतिक्रिया