हजारौंको सहारा बनेको सहारा 

बिर्तामोड। देशकै ठूलो सहकारी सहाराले आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँ बचत पुर्याउने लक्ष्य बनाएको छ।  

सदस्य संख्या र शेयर पूँजीका हिसाबले सबैभन्दा उत्कृष्ट र ठूलो सहकारी मानिएको सहारासँग हालको वासलात १५ अर्ब रुपैयाँ पुगेको छ।

सहाराका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय र धुलाबारी सेवा केन्द्रमा एकैसाथ एटिएम सेवा सुरु गर्न लागिएको र एटिएम सेवालाई आगामी दिनमा विस्तार गर्दै लैजाने बताए।

सहाराले संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको वार्षिकोत्सव कार्यक्रममा हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दैछ।   

एक लख ६० हजार सदस्यलाई सहाराले ७७ वटा सेवाकेन्द्रबाट नियमित सेवा दिईरहेको छ। सहाराले छ वटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको प्रमुख कार्यकारी गिरीले जानकारी दिए।

संस्थाको शेयर पूँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने बचत नौ अर्ब ५६ करोड रुपैयाँ छ। संस्थाले एक हजार ३१६ करोड रुपैयाँ ऋण लगानी गरेका छ। जगेडा तथा अन्य कोषमा एक अर्ब रुपैयाँ रहेको गिरीले बताए।

संस्था स्थापनाको २७ औँ वर्षमा आइपुग्दा सहाराले सामाजिक तथा अन्य क्षेत्रमा उदाहरणीय योगदान पुर्याउँदै आएको छ। संस्थाले हालसम्म उपचार अपरेसन, दुर्घटना र विशेष रोग लगायतमा ५१ करोड २९ लाख ८० हजार ४०९ रुपैयाँ सहयोग गरेको छ। सो सहयोग ३८ हजार ८४५ जना सदस्यलाई प्रदान गरिएको गिरीले बताए।

त्यस्तै, संस्थाले सञ्चालन गरेको विद्यालयमा २९० जना विद्यार्थी अध्ययनरत छन् भने १७९ जनालाई प्राविधिक शिक्षाको लागि छात्रवृत्ति दिईएको छ।

जैविक विविधता तथा वातावरण संरक्षणको क्षेत्रमा सहाराले १० हजार परिवारलाई सुधारिएको चुलो निर्माणमा सहजीकरण गरेको छ। १२ हजार घर परिवारलाई शौचालय निर्माणमा सहजीकरण, २५ हजार सदस्यलाई फलफूलको विरुवा वितरण, ८ हजार २०० घरपरिवारमा सोलार जडान र ३ हजार २४७ घर परिवारमा बायोग्यास जडान गरिएको छ।

त्यस्तै, सामाजिक क्षेत्रमा सहाराले उल्लेख्य काम गरेको छ। झापामा अक्सिजन सिलिन्डर बैंक स्थापनामा सहयोग, २ हजार १५६ वटा विपन्न आवास निर्माणमा सहजीकरण, ६ वटा एम्बुलेन्स हस्तान्तरण, ५ वटा खानेपानी ट्यांकी निर्माणमा सहयोग र सर्पदंश उपचार केन्द्र स्थापनामा सहयोग गरेको छ।

संस्थाले कोरोना राहत कार्यक्रमअन्तर्गत कोभिड भएका ४ हजार ५०० जना सदस्यलाई पोषण सामग्री वितरण गरेको थियो। कोभिड सहायतामार्फत १ हजार ७७० जना होम आइसोलेसनमा रहेका सदस्यहरुका लागि औषधि सहयोगबापत १ करोड २३ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको थियो।

प्रदेश सरकार र स्थानीय सरकारमार्फत ५७ लाख ३५ हजार २५७ रुपैयाँबरावरको राहत प्याकेज सहाराले उपलब्ध गरएको थियो। त्यस्तै, ७ हजार ८१६ जनालाई विपद सापटी रकमबावत २ करोड ६८ लाख २३ हजार रुपैयाँ प्रदान गरिएको प्रमुख कार्यकारी गिरीले सुनाए।

संस्थाले कोभिडको समयमा ब्याजमा १० प्रतिशत छुटबापत ३ करोड ४५ लाख ब्याज छुट दिएको थियो।

संस्थाले रोजगारी सिर्जनामा योगदान पुर्याउँदै आएको छ। प्रत्यक्ष रोजगारीमा ५२६ जना संलग्न छन् भने कृषि व्यवसायमार्फत ६ हजार ६२ जनामा रोजगारी सिर्जना गरिएको छ। विदेशबाट फर्किएका तथा बेरोजगार ३ हजार ३८६ जनालाई अटो रिक्सा ऋण प्रदान गरिएको छ।

साना तथा मझौला उद्योगमार्फत १ हजार २०० जनामा उद्यम सिर्जना गरिएको छ भने ९ हजा ३० जनालाई विभिन्न व्यवसायमार्फत स्वरोजगार बनाउन संस्था सफल भएको गिरीले बताए।

कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोगअन्तर्गत ९०० वटा स्यालो ट्युबवेल वितरण गरी ३ हजार हेक्टर जमिन सिँचाइ भइरहेको छ। कृषिलाई व्यावसायिक बनाउन १ हजार ४०० वटा टनेल वितरण गरिएको छ भने १६ हजार सदस्यलाई कृषि प्राविधिक सहयोग गरिएको छ।

पशुपालनमा किसानलाई सहयोगस्वरुप ४ हजार ९१८ वटा पशु बीमामार्फत सुरक्षा प्रदान गरिएको छ। ४० वटा फ्रेस हाउस निर्माणमा साझेदारी र ७ हजार ४१ जना किसानलाई खसीबाख्रा र कुखुरा पालनमा सहयोग गरिएको छ।

संस्थाले गरिबी न्यूनीकरणमा योगदान पुर्याउन लघुवित्त कार्यक्रममार्फत गरिबी न्यूनीकरणमा सहयोग, सिप, तालिम र उद्यमशीलता विकासमा सहयोग र स्थानीय स्तरमा स्वरोजगारी सिर्जनामा सहयोग गरेको छ।

लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा योगदान पुर्याउँदै सहाराले सदस्य संरक्षणमा जोड दिँदै आएको छ। त्यसअन्तर्गत ज्येष्ठ सदस्य, एकल महिला पुरुषको लागि सामाजिक सुरक्षा कार्यक्रम, अनाथ, अशक्त बालबालिकाहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम गर्दै आएको छ। संस्थाले हालसम्म ४ हजार ८९२ जनालाई दशकर्म तथा काजक्रिया खर्च उपलब्ध गराएको जनाईएको छ।
 

प्रतिक्रिया