बेञ्च बलियो बनाउन वैकल्पिक खेलाडीको परीक्षण! 

काठमाडौं। नेपाली क्रिकेटको परम्परात समस्या ब्याटिङ पक्ष नै हो। अन्तर्राष्ट्रिय स्तरमा नेपालले जतिपनि साना ठूला अवसर गुमाएको छ, लगभग सबै अवस्थामा कमजोर ब्याटिङ नै मुख्य कारक रहँदै आएको छ। 

तर, दुई फर्म्याटको लागि अलग–अलग घोषणा गरिएको टोलीमा भने ब्याटिको सुधार भएको संकेत देखिएको छ। पपुवा न्यू गिनीविरुद्धको एकदिवसीय खेलमा नेपालले २८६ र २७८ रन बनायो। नेपालले पहिलो इनिङ्समा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो। यसअघि ओमानविरुद्ध नेपालले कीर्तिपुर मैदानमै २४९/८ रन बनाएको थियो। तर, त्यो खेल नेपालले गुमाएको थियो।

नेपालले एकदिवसीयमा मात्रै होइन। मलेसिया सम्मिलित त्रिकोणात्मक टी२० आई सिरिजमा पनि २ सयको आँकडामा रन बनाइरहेको छ। पहिलो खेलमा पपुवा न्यू गिनीविरुद्ध १८३ रन बनाएको नेपाल दोस्रो खेलमा मलेसियामाथि ६ विकेटले विजयी भएको थियो। यस्तै, तेस्रो खेलमा नेपालले पपुवा न्यू गिनीविरुद्ध २०३ रन बनाएको छ। 

नेपाल पपुवा न्यू गिनीलाई १५ र ३७ तथा मलेसियालाई ६ विकेटले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगिसकेको छ। पछिल्ला तीन टी२० खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्नुको पछाडि भने पूर्ण क्षमताको युवा टोली रहेको कप्तान सन्दीप लामिछानेको भनाइ छ।

‘अहिले टी२० टोलीमा पूर्ण क्षमताका खेलाडी रहेकोले खेल राम्रो भएको हो,’ उनी भन्छन्,‘ तर, टिममा अझै सुधार गर्नुपर्ने ठाउँ रहेको छ। हामी त्यसका लागि खेल्छौं।’ 

मुख्य प्रशिक्षक पवुदु दासानायकेले बनाएको एकदिवसीय र टी२० दुवै टोलीमा सन्दीपसँगै आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल र कमल सिंह ऐरी छन्।

अनिल शाह, विक्रम शोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र भीम सार्की एकदिवसीय टोलीमा मात्र छन् भने करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी टी२० टोलीमा छन्।

पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका आदिल अन्सारीले बिहीबार पपुवा न्यू गिनीविरुद्धको खेलमा ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको बिस्फोटक इनिङ्समात्रै खेलेनन्, दीपेन्द्रसिंह ऐरीसँग मिलेर एकै ओभरमा ३२ रन प्रहार गरेर कीर्तिमान समेत बनाए। जुन नेपालले टी२० आईमा एकै ओभरमा बनाएको सर्वाधिक रन हो।

यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका आदिल अहिले लयमा देखिएका छन्। पछिल्लो समय घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनले गत पुसमा युएईमा यू–१९ एसिया कप खेलेका थिए।

उनी राष्ट्रिय टोलीबाट खेलिसकेका कुशल मल्ल, लोकेश बम र गुल्सन झासँग हालै भारतमा हाई पफर्मेन्स प्रशिक्षण लिएर फर्केका हुन्। कप्तान सन्दीप उनको प्रदर्शजबाट खुशी छन्। उनी भन्छन्,‘आदिलले पहिलो खेल खेल्दा पनि राम्रो गर्यो। यस प्रदर्शनले उसको लागि र टोलीका लागि बुस्ट गर्छ।’

पवुदुले लिएको जोखिम

गत महिना नेपालले ब्याटिङकै कारण ८ वर्षपछि आईसीसी टी२० विश्वकप खेल्ने स्वर्णिम अवसर मात्रै गुमाएर वान डे स्टाटस लम्ब्याउने मौका र अनुदानसमेत गुमायो। 

ओमानमा भएको ग्लोबल छनोटमा समूहका तीन खेलमा अपराजित रहने एकमात्रै टोलीका रुपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। अर्कातर्फ बलिङ र फिल्डिङमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल निर्णायक खेलमा ब्याटिङकै कारण चुक्यो। 

आशा गरिएका दीपेन्द्र र ओपनार आसिफ पनि ब्याटिङमा नचल्दा निर्णायक मानिएको खेलमा नेपाल सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भयो।  र, आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी२० विश्वकपमा छनोट हुन असफल भयो।

विश्वकपमा छनोट नहुनु भनेको धेरै चिजमा पनि पछाडि पर्नु हो। यसले अवसरहरु कम हुँदै जान्छन् र क्रिकेटको गति पनि सुस्त हुन्छ। यसैले होला नेपाली समर्थकमा पनि ठूलै क्रोध थियो। 

उनीहरुले सामाजिक सञ्जालमार्फत् भर्खरै नियुक्त भएर आएका मुख्यप्रशिक्षक पवुदु दसानायके र कप्तान सन्दीप लामिछानेको राजीनामा मात्रै माग गरेनन्, टोलीमा युवा खेलाडी राख्नुपर्ने सुझाव पनि दिए। 

हुन् पनि हो, पछिल्लो समय नेपाली टोलीमा ठूलो परिवर्तनको खाँचो थियो। विशेषगरी पछिल्लो समय नेपालको ब्याटिङ प्रदर्शन निकै खस्केकै थियो।ओमान टुर कै अर्को चारदेशिय टी२० सिरिजमा पनि नेपाली ब्याटिङ चल्न सकेको थिएन। यस्तै, आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजपछि त नेपालको ब्याटिङको समस्या उदांगो नै भएको थियो।

यो सिरिजमा नेपालले आयोजक यूएईसँगको पहिलो खेलमा १६९ र दोस्रो खेलमा २०३ रनको सामान्य विजय लक्ष्य पनि पूरा गर्न सकेन। ५० ओभरको खेलमा यो सामान्य लक्ष्य हो। हालको क्रिकेटमा यो रनको लक्ष्य टी२० को २० ओभरमै पूरा हुन्छ।

बलिङमा राम्रो प्रदर्शन गरेर विपक्षी टिमलाई सस्तैमा रोके पनि लगातार एकदिवसीय खेलमा २०० आसपास रन बनाउन नसक्नु कमजोर ब्याटिङकै उपज नै थियो।

यो बुझेका प्रशिक्षक दासानायकेको काँधमा बलियो टोली बनाउनु मात्रै होइन, घरेलु मैदानमा आयोजना भएको पपुवा न्यू गिनीसँगको एकदिवसीय सिरिज र त्रिकोणात्मक सिरिजमार्फत् जवाफ दिनु नै थियो। तर, दुई फर्म्याटको लागि अलग–अलग घोषणा गरिएको टोलीले एकदिवसीय प्रतियोगितामा जादु देखाउन सकेन। पपुवा न्यू गिनीले २–० ले सिरिज क्लिनस्वीप गरेपनि अर्को नेपाली टी२० टोलीले भने त्रिकोणात्मक टी२० आई सिरिजमा लोभलाग्दो प्रदर्शन गरिरहेको छ।

प्रशिक्षक दासानायके आफू सशक्त टोली निर्माणको प्रक्रियामा रहेको बताउँछन्। ‘हामी लिग–२ बाहेक धेरैभन्दा धेरै खेल खेल्न चाहन्छौं। स्तरीय खेलसँगै युवा खेलाडीलाई अवसर दिन चाहन्छौं,’ उनी भन्छन्, ‘हामी टिम बिल्डिङ फेजमा छौं। मुख्य प्रतियोगितामा अघि यो महत्वपूर्ण हुनेछ। युवा क्षमतावान खेलाडीहरु टोलीमा छन्।’

बेञ्च बलियो बनाउन वैकल्पिक परीक्षण ! 

सन् २०१४ को टी२० विश्वकपदेखि नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदासम्म नेपाली क्रिकेट पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषावकर, वसन्त रेग्मीहरूकै वरिपरी थियो। उक्त उपलब्धि हासिल गर्न उनीहरूको भूमिका महत्वपूर्ण थियो। 

पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेपछि भने यो टोलीमा रहेका केही खेलाडी मुख्य प्रशिक्षक दासानायकेको नजरमा पर्न सकेका छैन। वसन्त रेग्मी हाल अमेरिकाको स्थानिय क्रिकेट क्लबबाट खेलिरहेका छन् भने शरद, ज्ञानेन्द्र  र विनोद नेपाली टोलीबाट बाहिर छन्।

शरदले गत सेप्टेम्बरमा विश्वकप क्रिकेट लिग–२ मा ओमानविरुद्ध खेलेका थिए।  ज्ञानेन्द्र पनि विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिज खेले। तर, पपुवा न्यू गिनीविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र मलेसियासमेतको सहभागितामा त्यसपछि भएको त्रिकोणात्मक टी२० आई सिरिजका लागि नेपाल टोली घोषणा हुँदा शरद र ज्ञानेन्द्र मात्र होइन, विनोद पनि टोलीमा अटाएनन्। 

मुख्य प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट टोली अब युवाको काँधमा सार्न खोजेका छन्। एकदिवसीय र टी२० दुवैको कप्तान रहेका सन्दीप लमिछाने मात्र २१ वर्षका छन्। दुई सिरिजका लागि घोषित टोलीमा अन्तर्राष्ट्रिय खेल खेलेको आधारमा सबैभन्दा सिनियर खेलाडी सोमपाल हुन्। उनले सन् २०१४ मा डेब्यू गरेका थिए।

त्यसपछि करण र अरिफ सिनियर खेलाडीको रुपमा छन्। दुवैले सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उमेरका हिसावले भन्ने हो भने ३० वर्षीय करण सबैभन्दा सिनियर हुन्। त्यसपछि सुशन, उनी २८ वर्षका छन्।

अहिलेका कप्तान लामिछानेले सुशनले भन्दा एक वर्षअघि अर्थात् सन् २०१६ देखि सिनियर टोलीमा खेल्दै आएका छन्।

दिलिप, अनिल र रोहित २०१८ तथा अविनाश बोहरा, पवन सर्राफ र कुशलले २०१९ मा राष्ट्रिय टिमका लागि डेब्यू गरे। देव र आदिलले पहिलो पटक सिनियर टोली स्थान बनाएका छन्। बायाँ हाते ब्याटर दिलिप र विकेटकिपर ब्याटर अनिलले भने २०१८ पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।

अहिलेको टोलीमा सन् २०२१ यता डेब्यू गरेका खेलाडी मात्रै ८ जना छन्। एक वर्ष अगाडि अर्थात् २०२० कोसमेत गणना गर्ने हो भने कमलसिंह ऐरी पनि थपिन्छन्। दुई सिरिजको लागि घोषित वर्तमान टोलीलाई अबको खेलमा पनि निरन्तरता दिइन्छ वा दिइँदैन भन्ने प्रश्न उठ्छ। किनभने क्यानले ज्ञानेन्द्र र विनोदलाई विश्वकप क्रिकेट लिग–२ पछि थाकेकाले विश्राम दिएको जनाएको छ। यस्तै शरद घाइते छन्। 

‘ज्ञानेन्द्र र विनोदलाई हामीले आराम दिएका हौं। पछि फेरि हामी क्याम्पमा बोलाउँछौं,’ नेपाली क्रिकेट टिम छनोट समितका प्रमुख दिपेन्द्र चौधरीले भने,‘हामीले नेपाली क्रिकेटको भविष्यलाई हेरेर बेन्च बलियो बनाउनका लागि अरु विकल्प परीक्षण गर्न लागेका हौं।’


 

प्रतिक्रिया