समाचार विश्लेषण

कहाँ खस्यो कमल थापा तिम्रो गीताको कसम?

काठमाडौं। दुई वर्षअघि, २०७६ फागुन २८ गते, संघीय राजधानी काठमाडौँमा दुई वटा राप्रप्राको एकता घोषणासभा भयो। सभालाई सम्बोधन गर्दै कमल थापाले यसो भनेका थिए, ‘सम्पूर्ण कार्यकर्ताहरू; देशभरि टेलिभिजन हेरिरहनुभएका हजारौँ, लाखौं सार्थीहरू; विदेशमा पनि बसेर हेरिराख्नु भएका, पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु; म कहिल्यै पनि पार्टी फुटाउने छैन, फुटाउने छैन।’

श्रोता दीर्घामा तालीको गडगडाहट र हो...हो... आवाज गुन्जियो, खुसीयाली छायो। 

थापा रोकिएनन्। अझै उत्साहित हुँदै उनले सोधे, ‘तपाईंहरूलाई विश्वास लागेन?’ अनि मुस्कुराउँदै कोटको खल्तीमा हात हालेर श्रीमद्भगवद्गीताको एउटा गुटिका निकाले अनि दाहिने हात उठाएर देखाउँदै भने, ‘मैले गीता ल्याएको छु, यो गीता हातमा राखेर, हामी हिन्दु राष्ट्र चाहने, सनातन धर्मका पक्षपातीहरू यो गीतालाई हातमा राखेर म कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन।’ 

यति भनेर उनले पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीतिर हेर्दै भने, ‘यो गीता उहाँहरूलाई पनि चाहिन्छ कि, म यहीँ छाडेर जान्छु।’ गीता गुटिका पोडियममै छाडेर उनी बिदा भए। 

कमल थापाले कसम खाएको दुई वर्ष हाराहारीमा पार्टीको महाधिवेशन भयो। उनलाई पराजित गरेर राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भए। 

अनुमान के गर्न सकिन्छ भने कमल थापा सकेसम्म आफू सर्वसम्मत अध्यक्ष हुने र प्रतिस्पर्धा नै भए पनि भारी मतान्तरले आफू विजयी हुनेमा ढुक्क थिए। 

कमल थापाले आफू पराजित भएको तीन महिना नपुग्दै पार्टी फुटाए तर अनौपचारिक रूपमा, निर्वाचन आयोग नगई, चालीस प्रतिशत दाबी नगरी। 

कमल थापाले अध्यक्ष लिङ्देनलाई दुई पटक आफ्नो असन्तुष्टिको फेहरिस्त पठाएर पार्टी फुटाउने पृष्ठभूमि तयार गरे। 

सम्भवतः आफूले खल्तीबाट गीता गुटिका निकालेको सम्झे। अन्ततः उनले पार्टी छोडेको घोषणा गरे, अनि प्रतिबद्धताअनुसारै आफू चलेको र पार्टी नफुटाएको भन्ने प्रष्टीकरण दिए। उनले आफ्नो प्रिय ‘राप्रपा नेपाल’ आफ्ना अनुयायीहरूमार्फत जोगाएकै रहेछन्! 

कमल थापाले श्रीमद्भगवद्गीताको कसम खाएर एकीकृत गरेको राप्रपा आफैँले किन फुटाए भन्ने प्रश्नको एक वाक्यको सिधा जवाफ हो– उनले राजेन्द्र लिङ्देन आफूलाई हराएर पार्टी अध्यक्ष निर्वाचित भएको सहन सकेनन्। 

कमल थापाको राजनीतिक व्यक्तित्व विकासको पृष्ठभूमि थोरै केलाउनासाथ उनका मनमा किन वेदनाको आँधीबेहरी चल्यो भन्ने प्रष्ट हुन्छ।
 
कमल थापा २०१२ सालमा सैनिक पृष्ठभूमिको परिवारमा जन्मेका हुन्। उनका बाबु त्यति बेलाको ‘शाही नेपाली सेना’ मा कर्णेल थिए। एक दाजु पनि सेनामा थिए, जर्नेल भए। 

कमल थापा सैनिक सेवामा लागेनन्। उनी युवावयको प्रारम्भमै राजनीतिमा र खेलमा लागे। बीस वर्षको उमेर नहुँदै उनी पञ्चायती व्यवस्थाको हिमायती ‘राष्ट्रिय स्वतन्त्र विद्यार्थी मण्डल’ राष्ट्रिय अध्यक्ष भए। 

यही सङ्गगठनबाट उत्पत्ति भएको हो ‘मण्डले’ शब्द। 

कमल थापा फुटबल खेलाडी थिए। संकटा क्लबबाट राष्ट्रिय फुटबल टिममा खेल्थे। राष्ट्रिय टिमका क्याप्टेन पनि भए। टेबुटेनिस त अझै पनि खेल्दैछन्।

बाइस वर्षको उमेरमा ‘राष्ट्रिय खेलकुद परिषद’ मा सदस्य भए अनि लगातार दस वर्ष रहे। यही बीचमा लगातार आठ वर्ष एसियाली फुटबल महासंघको कार्यकारी सदस्य भए। केही समय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजमा पढाए, अर्थशास्त्रमा एमए गरेका थिए। 

राजा वीरेन्द्रले २०३६ सालको आन्दोलनपछि गठन गरेको ‘संविधान सुधार आयोग’ मा सदस्य नियुक्त हुँदा कमल थापा केवल २६ वर्षका थिए। पञ्चायतकालमा ‘राष्ट्रिय युवा सेवा कोष’ थियो। उनी उक्त कोषको केन्द्रीय समितिमा सदस्य सचिव पनि भए। 

पहिलो पटक राष्ट्रिय पञ्चायतको सदस्य हुँदा ३० वर्षका थिए। 

२०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्था पतन हुँदा कमल थापा ३४ वर्षका थिए। पञ्चायतमै उनी मन्त्री भएका थिए, त्यो पनि परराष्ट्रमन्त्री र स्थानीय विकास।

पञ्चायत ढलेको पाँच वर्षमै बहुदलीय व्यवस्थामा मन्त्री भए। यसपछि उनका लागि मन्त्रीपद सामान्य भयो। बहुदलीय व्यवस्थामै कम्तीमा सात पटक मन्त्रिपरिषदमा पुगे, तीन पटक उपप्रधानमन्त्री भएर। गतिला मानिने परराष्ट्र, स्थानीय विकास, स्वास्थ्य, कानून, आवास तथा भौतिक योजना मन्त्रालय सह्माले। एकै पटक तीन वटा मन्त्रालय पनि सह्माले। 

KT GS

राजा ज्ञानेन्द्रले त आफ्नो मन्त्रिपरिषदमा गृहमन्त्री बनाए। दोस्रो जनआन्दोलनमा गृहमन्त्री थिए। जनआन्दोलन दबाउन लागिपरेका थिए । 

बहुदलीय व्यवस्था पुनर्स्थापनपछि निर्दलीय पञ्चायतका हिमायती नेताहरूले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य, प्रवक्ता, महामन्त्री हुँदै अध्यक्ष भए, पार्टी कहिले राप्राप त कहिले राप्रपा नेपाल। 

देश जतासुकै होओस्, यति तीव्र गतिमा सशक्तरूपमा राजनीतिक व्यक्तित्व विकास गरेका कमल थापा राजेन्द्र लिङ्देनसँग राप्रपाको अध्यक्ष पदमा पराजित हुनु उनका लागि अकल्पनीय थियो, चरम पीडादायी घटना थियो। उनको जीवनको सबैभन्दा ठूलो असफलता थियो। सबैभन्दा ठूलो धक्का थियो। 

सैनिक परिवारमा हुर्केका खरो र प्रष्ट मिजासका, धनसम्पत्तिले सम्पन्न कमल थापाले लिङ्देनसँगको पराजय पचाउने कुरै थिएन। 

आफू पराजित हुनमा उनले सोझै राजा ज्ञानेन्द्रलाई दोष लगाए। दरबारले अर्थात् राजा ज्ञानेन्द्रले प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाए, कडा मन्तव्य दिए। 

आफ्नो उक्त आरोप आधिकारिकरूपमा प्रमाणित गराउन पार्टीमा छानविनको अडान राखे। अध्यक्ष लिङ्देनलाई धम्कीयुक्त दुई वटा पत्र लेखे। 

कमल थापाको मागअनुसार छानविन गराउनु लिङ्देनका लागि आफू विजयी भएको परिणाममा प्रश्न उठाउनु हुन्थ्यो। यसो गर्न उनी सहमत हुने कुरै थिएन। यसैलाई समातेर कमल थापाले ‘भारी मनले पार्टी’ पार्टी छाडेको भनेर घुमाउरो पाराले पार्टी फुटाए। अनि, अनुयायीहरूले जीवित राखिदिएको ‘राप्रपा नेपाल’ का अध्यक्ष भए। 

राप्रपाको अध्यक्ष पदमा भएको पराजयसँगै कमल थापाले राजसंस्था पुनर्स्थापनाको आफ्नो परम्परागत अजेन्डा परित्याग गरे किनभने राजा ज्ञानेन्द्र उनलाई पराजित गराउन सक्रिय भए रे! निर्वाचनमा प्रत्यक्ष हस्तक्षेप गरे रे! षड्यन्त्र गरे रे!

यसपछि कमल थापाले राजा ज्ञानेन्द्रबाट मात्र होइन, राजसंस्थाबाटै बहुदीय व्यवस्थामा खतरा देखे। अब कमल थापालाई राजसंस्था चाहिएन। क्या दूरदर्शिता!

राजा ज्ञानेन्द्रले राप्रपाको निर्वाचनमा हस्तक्षेप गरे, कमल थापालाई हराएर लिङ्देनलाई जिताउने षड्यन्त्र गरे भन्ने मानौँ। यस्तै हस्तक्षेप र षड्यन्त्र कमल थापालाई अध्यक्ष पदमा जिताउन गराएका भए?

यस प्रश्नमा कमल थापाको जवाफ के हुँदो हो!

पञ्चायतबाट उदाएका मध्ये कमल थापा एकमात्र यस्ता शीर्ष नेता थिए जसले निरन्तर राजसंस्थाको पक्षमा वकालत गरे। राष्ट्रपतिबाट नेपालको राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमसत्ता संरक्षण हुँदैन भन्ने मान्यता राखे। राजसंस्था नरहे नेपालको स्वतन्त्र अस्तित्व रहँदैन भन्ने निष्कर्ष निकाले। 

राजसंस्था पुनर्स्थापनालाई आफ्नो मुख्य राजनीतिक अजेन्डा बनाए। राजसंस्थाबारे जनमत सङ्ग्रह गराउन माग राखे। आफूलाई राजा ज्ञानेन्द्रको आशीर्वाद प्राप्त छ भने। राजसंस्थाको पतनपछि पनि बडादसैँमा टीका थाप्न निर्मल निवास गए। प्रत्येक असार २३ गते पुष्पगुच्छा बोकेर गए।

अध्यक्ष पदमा पराजित भएपछि उनलाई राजसंस्था चाहिएन। अहिले सनातन हिन्दु राष्ट्र एकमात्र राजनीतिक अजेन्डामा छन्। 

दुई दशकभन्दा अलिक बढी भयो, प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभामा बोल्दै लोकेन्द्रबहादुर चन्दले कमल थापालाई जहाजमा प्वाल पार्ने मुसा भनेका थिए।

राजसंस्थाको पतनपछि पनि त्यही राजसंस्थाको जहाज हाँकेर राजनीतिक यात्रामा अघि बढेका कमल थापा त्यही जहाजमा प्वाल पारिदिएर सनातन हिन्दु धर्मको जहाजमा सवार छन्। सनातन हिन्दु राष्ट्रको मूल स्रोत राजसंस्था हो भन्ने कुरा उनले भुसुक्कै बिर्सेका छन्।

प्रतिक्रिया