काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले तत्काल ‘अर्लि इलेक्सन’ को सम्भावना नरहेको बताएका छन्।

उनले ‘अर्लि इलेक्सन’ का बारेमा गठबन्धनभित्र धेरै छलफल भएको चर्चा गर्दै चुनाव गर्न संविधान र कानूनमा रहेका केही विरोधाभाष हटाउने बारे छलफल भैरहँदा गठबन्धनले चुनाव सार्न लागेको भनेर गलत अर्थ लाग्नेगरी प्रचार भएको बताए। अध्यक्ष प्रचण्डले मंगलबार दृश्य टिभिसँगको विशेष अन्तर्वार्ताका क्रममा समसामयिक राजनीतिक बिषयमा पनि चर्चा गरे।

पूर्व प्रधानमन्त्री प्रचण्डले भने– ‘शेरबहादुरजी पनि पाँच वर्ष अघि नै किन चुनावमा जाने र पूरा समय संसद चलोस् भन्नेमै हुनुहुन्छ। नेपाली कांग्रेस र हामी पनि यसमा सहमतै थियौं। निर्वाचन आयोगले चैं होईन अहिले नै गर्नुपर्छ भनेर अलिक जोड गरेपछि र अर्कोतिर प्रतिपक्षले पनि स्थानीय चुनाव त समयमै गर्नुपर्छ भनेको छ। प्रतिपक्षले त चुनाव सार्न खोजेको भनेजसरी प्रचार गर्यो। सत्य केहो भने चुनाव सार्न खोजेको हुँदैहोईन।

संविधान र कानूनमा अन्तरविरोध देखियो, त्यो स्थितिमा संविधान अनुसार कानून मिलाउनुुुपर्ने हुन्छ। यही कारण समय लाग्छ कि भनेर सल्लाह भैरहेको थियो तर प्रतिपक्षले यसलाई अपव्याख्या गरेर राजनीतिक बिषय बनाईदियो। निर्वाचन आयोगले पनि यसलाई प्रतिष्ठाको बिषय बनायो। अनि गठबन्धनले चुनाव सार्न लाग्यो भनेजस्तो सबैलाई लाग्न थाल्यो तर सत्य त्यस्तो होईन, गलत अर्थ लाग्नेगरी प्रचार गरिएको मात्र हो।’ ‘संसदको अवरोध हटाएर सामान्य अवस्था बनाउने बिषयमा हामी गठबन्धनका सहयात्री दलका नेताहरु निरन्तर प्रयाश गरिरहेका छौं।

प्रधानमन्त्री शेरबहादुर देउवा आफैं प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको निवासमा गएर सरसल्लाह गर्नुभएको छ। कहिले म गएर वार्ता गरेको छु। कहिले हामी तिनैजना र अरु साथी नेताहरु समेत बसेर पनि छलफल गरेका छौं। सभामुख स्वयंले पनि नेताहरुसँग अवरोध खोल्न छलफल गरिसक्नु भएको छ। हामी निरन्तर प्रयाशमै छौं। तर प्रतिपक्षले अदालतको बिचाराधीन बिषयमा पनि संसदलाई अवरुध्द गरिरहेको छ।

महत्वपूर्ण बिषय एमसीसीमा निर्णय हुँदा समेत प्रतिपक्ष एमाले संसदमा नाराबाजी गरिरहेको थियो। अध्यक्ष प्रचण्ड भन्छन्– ‘नेपाली कांग्रेस भित्र नै एक्लै चुनाव लड्ने कि गठबन्धनसँग सहकार्य गर्ने भन्ने बिषयमा मतभेद देखिन्छ। तर यो कांग्रेसभित्रकै आन्तरिक पक्ष विपक्षको बहस मात्र हो जस्तो मलाई लाग्छ। हामी त गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तर लिएर जानुपर्छ भन्नेमै छौं। यदि कांग्रेस एक्लै निर्वाचनमा गयो भने त्यो उसका लागि आत्मघाती निर्णय हुनसक्छ भन्ने मलाई लागेको छ।’ (पूर्व प्रधानमन्त्री प्रचण्डको विशेष अन्तर्वार्ताको वृत्तान्त चाँडै)

प्रतिक्रिया