किसुनजीले आफ्नै तस्वीर राख्नुभएन
फोटोको कहानी

किसुनजीले आफ्नै तस्वीर राख्नुभएन

फोटोको कहानी :  किसुनजीले किन आफ्नै तस्वीर राख्नुभएन ?

चन्द्रशेखर कार्की

काठमाडौं । नेपाली कांग्रेसको कलबलगुडी (झापा) महाधिवेशन अगाडि नै केन्द्रिय कार्य समितिले १० वर्षदेखि पार्टीका कार्यवाहक सभापति रहेका कृष्णप्रसाद भट्टराईलाई सभापतिको सर्वसम्मत उम्मेद्वार घोषणा गरेपछि तेस्रो दिन यो तस्वीर खिचेको थिएँ । त्यसबेला म जनमञ्च साप्ताहिकमा कार्यरत थिएँ । 

कांग्रेसका संस्थापक मध्येका नेता भट्टराई सभापति पदको सर्वसम्मत उम्मेदवार घोेषणा भएको भोलिपल्ट कांग्रेसको पार्टी अफिस महाराजगंजमा दिउँसो तस्वीर खिच्न पुगेँ । 

तस्वीर खिच्दै पछाडि सर्दै थिएँ । अलिअलि ठेलमठेल पनि भइरहेको थियो । यसैक्रममा पछाडि नहेरी सर्दै गर्दा नेता वासु रिसाललाई मेरो कुइनाले टाउकोमा दुख्ने गरी नै ठोक्किएछ । त्यसपछि किसुनजीको कार्यकक्षमा पस्ने अनुमनि पाइँन । त्यहाँ त्यति चित्तबुझ्दो तस्वीर खिच्न पनि सकिन । जनमञ्चका सम्पादक मुकुन्द पराजुलीले पत्रिकाको कभरपेजका लागि जसरी पनि राम्रो तस्वीर खिच्नु भनेर भन्नुभएको थियो ।

अर्को दिन एकाबिहानै किसुनजीको निवास कुपण्डोल पुगेँ । त्यहाँ पनि नेता वासु रिसालसँग भेट भइहाल्यो र उहाँले अघिल्लो दिन मेरो कुइनाले उहाँको टाउकोमा लागेर दुखेको कुरा बताउँदै भन्नुभयो, मैले हिजो रिसले अफिस भित्र जान दिइँन, ल आज चाहिँ भित्र नै हिँड भन्दै किसुनजी बसिरहनुभएको कोठामा लिएर जानुभयो ।

केही तस्वीरहरु भित्र पनि खिचेँ तर कोठामा लाइट कम भएका कारण र जनमञ्च म्यागेजिनका लागि कभर फोटो चाहिएको भनेर अनुरोध गरेपछि किसुनजी काँधमा गम्छा राखेर बाहिर आइदिनु भयो र कुरा गर्दै पाँच मिनेट जतिमा सायद पाँचै वटा फोटो खिचियो होला ।

यो फोटो पत्रिकामा छापिएपछि धेरैले मन पराए र किसुनजीको कोठामा उहाँको फोटो पनि नदेखेपछि एउटा फोटो बनाएर लगिदिएँ । तर किसुनजीले भन्नुभयो, ‘मैले पत्रिकामा हेरिसकेँ, फोटो सुन्दर छ, धेरैले किसुनजी सिम्पल तर हिरो देखिनु भएको छ पनि भने । बाबु आफ्नो फोटो राख्यो भने स्वार्थी हुँदै गइन्छ, त्यसैले म कहिल्यै पनि आफ्नो फोटो राख्दिन ।’

त्यसपछि त्यहीँ बसिरहेका नेता ओमकार श्रेष्ठले ‘फोटो म लान्छु'  भन्दै टपक्कै टिपिहाले ।

आज किसुनजीको स्मृति दिवस हो । नेपाली राजनीतिका एक आदर्श नेता किसुनजीलाई दोस्रो बनाउन सक्ने नेता आजसम्म जन्मिन सकेका छैनन् । सत्ताको चरम लुछाचुँडी, राजनीतिक संरक्षणमा फैलदो भ्रष्टाचार र नीतिबिनाको सत्तासाझेदारी भैरहेको देख्दा २०५६ सालमा किसुनजीले सर्लक्क प्रधानमन्त्री पद त्यागेको घटना झल्झली सम्झना भैरहेको छ । अरु त अरु नेपाली कांग्रेसले समेत आफ्ना संस्थापक नेताको उच्च नैतिकता र आदर्शको अनुशरण नगरेको देख्दा भने राजनीतिप्रति नै वितृष्णा पैदा भएर आउँछ । 

दक्षिण एशियाकै एक अनुकरणीय नेता किसुनजीप्रति सादर श्रध्दाञ्जलि !

प्रतिक्रिया