एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) संसदबाट पास भएपछि यसले राष्ट्रको समग्र आर्थिक विकाशमा टेवा दिने नेपाल विधुत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताएका छन्।

शाक्य एमसीसी परियोजनाअन्तर्गत विधुत प्रसारण लाइनको मुख्य डिजाइनर हुन्। एमसीसी परियोजनाअन्तर्गत अमेरिकी सरकारले नेपालको उर्जा तथा सडक क्षेत्रमा ५ सय मिलियन डलर उपलब्ध गराउने छ। परियोजना ५ वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान पनि रहेको छ।

शाक्य एमसीसी परियोजनाअन्तर्गत तोकिएको समयमा प्रसारण लाइन सम्पन्न भएको खण्डमा नेपालको विकाश योजनामा ‘कोशेढुंगा’ सावित हुने बताउँछन्। एमसीसी संसदबाट पास भएपछि दृश्य टेलिभिजनलाई पहिलो अन्तर्वार्ता दिने क्रममा प्रसारण लाइनका डिजाइनर शाक्यले भने, ‘यो नेपालका लागि विकाशको मेरुदण्ड बन्नसक्छ।’ नेपालमा पछिल्लो समय उर्जा क्षेत्रमा ठूलो लगानी भएको र यसलाई व्यवस्थित गर्न प्रसारण लाइन आवश्यक रहेको उनको भनाई छ। ‘प्रसारण लाइन निर्माण कार्य पहिले नै ढिलो भइसकेको छ। अब हामीले थप ढिलाइ गर्नु हुँदैन,’ उनी भन्छन्।

एमसीसी अमेरिकाले लादेको नभई, नेपालले प्राथमिकताको आधारमा लगानी गर्न निवेदन गरिएको उनको भनाई छ। एमसीसी संसदबाट अनुमोदन भएपछि अब मुआवजालगायत अन्य काम सम्पन्न गरेर परियोजना सुरुवात गर्न एक वर्ष लाग्ने र कुनै अवरोध नभए ४ वर्षभित्रमा काम सम्पन्न भइसक्ने उनको आशा छ।

प्रतिक्रिया