कहिल्यै पनि पद, पैसा र जागिरको पछि लागिनँ

–डा. रामकण्ठ माकजु, कार्यकारी निर्देशक, धुलिखेल अस्पताल

 

विपन्नलाई निःशुल्क उपचार । अस्पताल आउने बिरामीलाई सरल, सहज, सुलभ र गुणस्तरीय उपचार । चिरिच्याट्ट भौतिक संरचना र बिरामीलाई स्वस्थकर खाना । सेवाको भावनाले ओतप्रोत भएका चिकित्सकको टिम । २५ वर्षअघि स्थापना भएको धुलिखेल सामुदायिक अस्पतालले साँच्चिकै मुलुककै नमुना अस्पतालको पहिचान स्थापित गरिसकेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुको सही भिजन र कुशल नेतृत्वले गर्दा अस्पतालले फड्को मारेको हो । कुनै बेला स्याल कराउने ठाउँमा स्थापित मुलुककै प्रतिष्ठित अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा दिन सकेकोमा प्रसन्नता व्यक्त गर्छन् डा. माकजु । युरोपको अस्ट्रियामा चिकित्साशास्त्रको अध्ययन पूरा गरेपछि उनलाई युरोप र अमेरिकामै पर्याप्त अवसर नभएका होइनन् । तर, मुलुककै गरिब जनताका लागि सेवा गर्ने हुटहुटीले डा. माकजुको मन उता थामिएन ।

‘करिब ५ लाख जनसंख्या भएको क्षेत्रमा गतिलो अस्पताल थिएन । त्यही भएर पनि धुलिखेल अस्पताल स्थापना गर्ने सोच आयो । आफ्नो अवसरभन्दा पनि जनताको सेवाको लागि नेपाल फर्किएर यतै काम गर्ने सोच आयो,’ उनले दृश्य टिभीसँग भने ।

सुरुदेखिको टिमलाई व्यवस्थापन गरेर डा. माकजुले अस्पताललाई यो उचाइमा पुर्याउनु पक्कै पनि चानचुने कुरा होइन । आफूले कहिल्यै पैसालाई प्राथमिकता नदिएको र जम्मा भएको पैसा बिरामीको सेवामै खर्च गरेको उनको भनाइ छ । ‘पैसा भनेको उपज हो, यसकै पछि मात्र लागेको भए धुलिखेल अस्पतालले विपन्न बिरामीलाई यो स्तरको सेवा दिनसक्ने थिएन,’ उनी भन्छन् । अहिलेसम्म आफूले गरेको कामबाट सन्तुष्टि मिलेको उनको धारणा छ ।

ram kantha makaju 04काठमाडौं विश्वविद्यालयमा दुई कार्यकाल (आठ वर्ष) उपकुलपति रहँदा उनले त्यहाँ भौतिक तथा शैक्षिक विकासका लागि निक्कै सुधारका काम गरे । पछिल्लो समय वर्षेनी तीन हजार हाराहारी विद्यार्थी त्यहाँबाट दीक्षित हुने गरेका छन् । समयानुकूल विषयवस्तु थपेर विद्यार्थीका लागि पठनपाठनको व्यवस्थासमेत मिलाइएको छ । पछिल्लो समय डा. माकजुको ध्याउन्न नयाँ पुस्तामा कसरी दक्षता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने भन्नेमै केन्द्रित छ । विकट गाउँ–बस्तीमा परोपकारी स्वास्थ्य अभियानलाई अझै प्रभावकारी बनाउने लक्ष्य छ ।

डा. माकजुको महत्वपूर्ण भूमिका र धुलिखेल अस्पताल टिमको क्रियाशीलताले गर्दा विकट गाउँहरु सलम्बु लगायत अन्य बीस दुर्गम ठाउँहरुमा स्वास्थ्य केन्द्र सञ्चालन हुँदै आएको छ । उक्त स्वास्थ्य केन्द्रहरुबाट गाउँका गरिब बिरामीले सर्वसुलभ ढंगबाट स्तरीय उपचार पाएका छन् ।

‘यदि मलाई भगवानले सोधे भने म यही ठाउँमा जन्मन्छु भन्ने जवाफ दिन्छु । मेरो देश सुन्दर, शान्त र रमणीय छ,’ उनी भन्छन् । विज्ञानले संसारको सबै कुरा व्याख्या गर्न नसक्ने भएकाले पक्कै पनि अलौकिक शक्तिको अस्तित्व रहेको उनी स्वीकार गर्छन् ।

कुनै पनि क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउन इमानदारिता, लगनशीलता र पारदर्शिता जरुरी रहेको उनको ठम्याइ छ । ‘हरेक क्षेत्रमा पहिलेको दाँजोमा धेरै विकास हुँदै गएको छ, विकासलाई टिकाउ र दिगो बनाएर जनताको जीवनमा अझै परिवर्तन ल्याउन जरुरी छ,’ उनी अनुभव सुनाउँछन्।

धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. माकजुसँग उनको जीवनका आयाम र धुलिखेल अस्पतालको विकासबारे दृश्य टिभीले गरेको कुराकानी : 

 

प्रतिक्रिया