मानसिक स्वास्थ्यका लागि ध्यान कति महत्त्वपूर्ण ?

–वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय

मानसिक स्वास्थ्यका लागि ध्यानको भूमिका महत्तवपूर्ण हुने वरिष्ठ मनोचिकित्सक तथा स्ट्रेस काउन्सिलर डा. कपिलदेव उपाध्यायले बताएका छन् । दृश्य टिभीसँग कुराकानी गर्दै डा. उपाध्यायले भने, ‘उचित तरिकाले ध्यानको अभ्यास गर्दा शरीर र मनलाई स्वस्थ राख्न योग र ध्यानले धेरै मद्दत गर्छ ।’ जथाभावी ध्यानको अभ्यास गर्दा त्यसले समस्या निम्त्याउन सक्ने भएकाले त्यसतर्फ सजग रहन उनले आग्रहसमेत गरे ।

पश्चिमी मुलुकका न्युरो वैज्ञानिकहरु ध्यानले मस्तिष्कमा कस्तो परिवर्तन ल्याउँछ भनी त्यसको गहन अध्ययन र अनुसन्धानमा लागेका र त्यसबाट सकारात्मक नतिजा आएको उनले जानकारी दिए । ‘नेपालकै बौद्घ ध्यानगुरु मिङ्योर रिम्पोचेले १० हजार घन्टा ध्यान गरिसकेपछि उनको मस्तिष्कमा आएको परिवर्तनबारे अध्ययन गरिएको थियो । उनको मस्तिष्कमा आएको व्यापक परिवर्तन देखेर न्युरो वैज्ञानिकहरु चकित परेका थिए,’ उनले भने । त्यस्तै अनुसन्धान ध्यानका अभ्यासी फ्रान्सका बौद्घ भिक्षु म्याथ्यु रिकार्डमाथि गर्दा पनि मस्तिष्कमा परिवर्तन भएको पाइएको थियो ।

एक अनुसन्धानका अनुसार नेपालका करिब १३ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको भन्दै डा. उपाध्यायले अन्य स्वास्थ्य समस्याको दाँजोमा यो अलि फरक रहेको उल्लेख गरे । ‘अन्य रोगमा डाक्टरले शरीरको चिरफार गर्छन् भने मानसिक रोगमा डाक्टरले बिरामीको मनको चिरफार गर्नुपर्छ । यस्तो समस्यामा औषधिका साथै काउन्सिलिङको ठूलो भूमिका हुन्छ,’ उनले भने ।

कोभिड १९ को महामारीपछि मानिसमा आएको नैराश्य र तनावले गर्दा आत्महत्याका घटना बढेको उनको भनाइ छ । यसको रोकथामका लागि सरकारले जनचेतना र परामर्शको कार्यलाई प्रभावकारी रुपमा निरन्तरता दिइनुपर्ने उनले स्पष्ट पारे । करिब पाँच दशकजति समय मानसिक स्वास्थ्य र काउन्सिलिङको क्षेत्रमा बिताएका डा. उपाध्याय अहिले रिटायर्ड लाइफमा ध्यान–साधना र लेखाइ–पढाइमा व्यस्त रहेका छन् । मानसिक स्वास्थ्यका विभिन्न आयाम र ध्यानको अभ्यासबारे डा. उपाध्यायसँग गरिएको कुराकानी :

प्रतिक्रिया