आत्मा पनि मर्छ

–प्राध्यापक क्षितिज उपाध्याय ढुंगेल, फिजियोलोजी, जानकी मेडिकल कलेज, जनकपुर

 

मानिसको मृत्युपछि आत्मा अमर रहन्छ भन्ने वैदिक मान्यता छ र, यही मान्यतालाई सनातनीहरुले आत्मसात गर्दै आएका छन् । हिन्दुहरुको पवित्र ग्रन्थ गीतामा पनि आत्माको अमरत्वको बारेमा चर्चा गरिएको पाइन्छ ।

तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ–मेडिकल साइन्सका फिजियोलोजीका एक प्राध्यापक आत्माको बारेमा केही वर्षदेखि अनुसन्धान गर्दै आएका छन् । अहिलेसम्मको अनुसन्धानको नतिजा सुनाउँदै उनी भन्छन्– आत्मा पनि मर्छ । ती प्राध्यापक हुन् क्षितिज उपाध्याय ढुंगेल, जसले यसअघि किस्ट मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा पनि फिजियोलोजी प्राध्यापन गरिसकेका छन् ।

‘मानिसको मृत्युपछि निश्चित समयसम्म उचित खानपान (धूप वा यस्तै रुपमा) पाएन भने आत्मा मर्छ,’ दृश्य टिभीसँगको कुराकानीमा प्राध्यापक ढुंगेलले भने । उनले रोचक तथ्य के पनि उद्घाटन गरे भने एउटा आत्मालाई अर्काको शरीरमा प्रवेश गराउन मिल्छ ।

विज्ञानको विद्यार्थी भए पनि सानैदेखि अध्यात्मप्रति अगाध आस्था भएको र आध्यात्मिक घटनालाई वैज्ञानिक तवरले अनुसन्धान गरेको उनी बताउँछन् । विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा साढे तीन दर्जनभन्दा बढी अनुसन्धानमूलक लेखहरु प्रकाशित गरिसकेका उनका अध्यात्मको वैज्ञानिक पक्ष खोतलेर तयार पारिएका दर्जनभन्दा बढी लेखहरु छापिएका छन् । स्पिरिचुअल पस्र्फेक्टीभ अफ कोरोना भाइरस उनको पछिल्लो जर्नल आर्टिकल हो ।

आफ्नो आत्मासम्बन्धी रिसर्चको वैज्ञानिक फाउन्डेसन तयार पार्न आफू लागिपरेको उनको धारणा छ । महामानव पिताको कृपाले अनुसन्धानको क्रममा नयाँ–नयाँ तथ्य उद्घाटित हुँदै गएको र त्यसलाई अभिलेखीकरण गरिएको उनी बताउँछन् । उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा योग, ध्यान, मेटाफिजिक्स, पारासाइकोलीलगायत विषयमा आफ्नो पेपर प्रस्तुत गरिसकेका छन् । उनको ‘कन्सेप्ट अफ माइन्ड एन्ड कग्निसन इन योगसूत्र अफ पतन्जली’ नामक कृति अन्तर्राष्ट्रिय पाठकहरुका लागि अमेजनमा समेत उपलब्ध छ ।

विज्ञान, अध्यात्म र आत्माको खोजबारे हेर्नुहोस् प्राध्यापक ढुंगेलसँग दृश्य टिभीले गरेको कुराकानी:

प्रतिक्रिया