विज्ञान, प्रविधि र नवप्रवर्तन किन परेन प्राथमिकतामा ? : गणेश शाह

पूर्व विज्ञान तथा प्रविधि मन्त्री पूर्व विज्ञान तथा प्रविधि मन्त्री

गणेश शाहले विज्ञान तथा प्रविधिको विकासका लागि राज्यले कम्तीमा पनि कूल बजेटको एक प्रतिशत रकम यस क्षेत्रलाई छुट्याउनुपर्ने बताए । ‘साँच्चिकै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउने हो भने विज्ञान र प्रविधिको विकासमा जोड दिनुपर्छ,’ दृश्य टिभीसँग कुराकानी गर्दै उनले भने, ‘अहिलेको आवश्यकता भनेको यस क्षेत्रमा लगानी बढाउनैपर्छ ।’ सरकारी बजेटमा विज्ञान तथा प्रविधिका लागि छुट्याइएको शून्य दशमलव ३४ प्रतिशत रकम अपर्याप्त रहेको उनको भनाइ छ ।

सरकार, नीतिनिर्माता र राजनीतिक दलहरुका प्रमुख नेताहरुले वैज्ञानिक अनुसन्धानलाई केन्द्रबिन्दुमा राखेर काम नगरेको धारणा उनले राखे । ‘हामीकहाँ विज्ञान र प्रविधिको विकास किन हुन सकेन भनेर लामो समयदेखि बहस हुँदै आएको छ । तर, प्रमुख दलहरुले यस क्षेत्रलाई कहिल्यै प्रमुख एजेन्डा बनाएको देखिँदैन,’ माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्जसमेत रहेका शाहले भने । मुलुक स्थानीय, प्रदेश र संघीय चुनावको तयारीमा जुटिरहेकाले आगामी चुनावमा दलहरुलाई विज्ञान, प्रविधि र नवप्रवर्तनलाई मुख्य एजेन्डा बनाएर अगाडि बढ्न दबाब दिनुपर्ने उनको सुझाव छ ।

पछिल्लो समय स्थानीय तह सबल र सुदृढ हुँदै गएका छन् । त्यही भएर पनि स्थानीय तहलाई विज्ञान शिक्षामा लगानी बढाउनका लागि त्यसअनुसार नीति बनाउन लबिङ गर्नुपर्नेमा उनले जोड दिए । ‘तल्लो तहदेखि विज्ञान शिक्षा बलियो हुँदै गयो भने त्यसले वैज्ञानिक संस्कार विकासका लागि महत्वपूर्ण भूमिका खेल्छ । वैज्ञानिक संस्कार बलियो भएपछि मात्र योजनाबद्ध र व्यवस्थित विकास प्रणाली स्थापित गर्न सकिन्छ,’ उनले थपे । कोभिड–१९ महामारीले नेपाली वैज्ञानिक समुदायलाई नयाँ पाठ सिकाएको उनको अनुभव छ ।

महामारीका बेला सीमित स्रोत र साधनका बीच यहाँका वैज्ञानिक समुदायले खेलेको भूमिकालाई पनि उनी सकारात्मक ढंगले लिन्छन् । आगामी दिनमा नेपालमै कसरी खोप उत्पादन गर्न सकिन्छ भन्नेतर्फ सरकारले योजनाबद्ध ढंगले काम थालनी गर्नुपर्ने उनको भनाइ छ । ‘यदि लगानीको व्यवस्था हुने हो भने नेपालमै खोप उत्पादन गर्न सकिन्छ । अन्य मुलुकका वैज्ञानिकहरुसँग समन्वय गरी नेपाली वैज्ञानिकहरुले नेपालमै त्यो काम गर्न सक्छन्,’ उनले भने । कोभिड–१९ महामारी, वैज्ञानिक अनुसन्धान र नेपाली वैज्ञानिकहरुको भूमिकाबारे पूर्व विज्ञान तथा प्रविधि मन्त्री शाहसँग दृश्य टिभीले गरेको कुराकानी :

प्रतिक्रिया