बागमती प्रदेशमा स्वास्थ्य सेवा मजबूत बनाउँदै छु -निमा लामा

स्वास्थ्य मन्त्री, बागमती प्रदेश

 

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामा हुन् त पर्यटन व्यवसायी । युवा अवस्थामै पर्यटन क्षेत्रसँग हिमचिम बढाएका निमाले आफ्नै जन्मथलो सिन्धुपाल्चोककोमा सुविधा सम्पन्न होटल स्थापना गरेर विदेशी पर्यटकलाई लोभ्याईसकेका छन् । पर्यटन क्षेत्रमा सक्रिय हुँदै गर्दा निमालाई समाजका लागि पनि सकेको सेवा गर्ने सोच पलायो । यसरी उनी व्यवसायसँगै समाज सेवामा पनि कम्मर कसेरै होमिए ।

काम गर्दै जाँदा उनलाई यस्तो लाग्यो कि सबै कामकुराको छिनोफानो त राजनीतिले पो गर्दोरहेछ । निर्णायक तत्व त राजनीति पो रहेछ भन्ने कुरामा स्पष्ट भएपछि निमालाई बिस्तारै राजनीतिले पनि खिच्न थाल्यो । अनि निमा व्यवसाय, समाजसेवालाई सकेजति डोहोर्याउँदै लागे राजनीतिमा। राजनीतिको पहिलो श्रेणीमै उनले रोजेको दल हो नेपाली कांग्रेस । कांग्रेसको तल्लो निकाय हुँदै उनी अघि बढ्दै गए ।

अहिले निमा बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रलायको नेतृत्व सम्हालिरहेका छन् । उनलाई स्वास्थ्य मन्त्रालयको नेतृत्वमा पुगेपछि यस्तो लागेको छ कि महामारीको असर कम गर्दै स्वास्थ्य क्षेत्रलाई भरपर्दो विश्वासिलो बनाउन सकियो भने त नेपालमा पर्यटकको भिडभाड बढाउन अरु कुनै पनि कुराले छेक्नै सक्दैन । काम गर्दै जाँदा आर्जन गरेको यो विश्वासले निमा पर्यटन व्यवसायबाट राजनीतिमा आएकोमा आफैंलाई धन्य ठानिरहेका छन् । हुन त उनी स्वार्थ बाझिन्छ भन्ने कुराले सचेत थिए त्यसैले पर्यटन मन्त्रालायतिर लोभिएनन् । बने स्वास्थ्य मन्त्री ।

अहिले जुन जिम्मेवारीमा छन् निमा प्रशन्न छन् । यसैपनि बागमती प्रदेशको भूगोल र जनघनत्व अरुको तुलनामा विविधतायुक्त छ । सुविधासम्पन्न काठमाडौं उपत्यकादेखि सरकारको सम्पर्क नै नरहेको अवस्थाको दुर्गम गाउँको खोंचमा बस्ने चेपाङ समुदाय पनि बागमती प्रदेश सरकारको कार्यक्षेत्रमै छन् । यस्ता दुर्गम क्षेत्रमा कोरोना महामारीका बेला उपचार र खोपको सेवा दिनु निकै चुनौतिपूर्ण काम थियो । स्वास्थ्य मन्त्री निमा लामा आफैं ती दुर्गमा गाउँमै पुगे, अनि अनेक धार्मिक र रुढिबादी भ्रमहरु चिर्दै चेपाङ परिवारलाई समेत खोप लाउन राजी गराए ।

अहिले चेपाङ परिवार सरकारको सेवा ग्रहण गर्न कुनै हिचकिचाहट गर्दैन भन्ने मन्त्री लामाको विश्वास छ । नेपाली कांग्रेसका युवा नेता निमा लामा सुपठित अनुभवी व्यक्ति हुन् । देश विदेशको राजनीति र सरकार सञ्चालनको प्रवन्धनका बारेमा अवलोकन–अध्ययन गरेका उनी नेपालको राजनीतिमा व्यवस्थापनको कमजोरीले नै राज्यको स्रोतसाधन जनतासमक्ष पुग्न नसकेको बताउँछन् । उनी राजनीतिलाई पेशा मानेर काम गर्न नहुने ठान्छन् र आफू सेवा गर्ने अठोटले राजनीतिमा पसेको दावी गर्छन् ।

भन्छन्–“राजनीतिलाई पेशा बनाउनु नै गलत कुरा हो, आफ्नो आवश्यकता पूरा गर्न अलग्गै पेशा व्यवसाय गर्नुपर्छ, राजनीति त सेवा हो नि । सेवाभावले राजनीति गरियो भनेमात्र जनताको वास्तविक रुपमा हित गर्न सकिन्छ ।” बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामासँग उनको क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, नयाँ योजना र राजनीतिका बारेमा दृश्य टिभीले गरेको वार्तालाप।

प्रतिक्रिया