युवाहरु कांग्रेस नेतृत्वका लागि हकदार छन् - नाम्गेल जाङ्ग्बु शेर्पा

मेयर, सोलुदूधकुण्ड नगरपालिका

सभापति, नेपाली कांग्रेस, सोलुखुम्बु

सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डका मेयर नाम्गेल जाङ्बु शेर्पाले आफ्नो साढे चारवर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् । १०० पूर्णाङ्कमा आफूले आफूलाई कति नम्बर दिनुहुन्छ भन्ने दृश्य टिभीको प्रश्नमा उनले ९० नम्बर दिने बताए ।

‘चुनावअघि जनतासामु गरेका अधिकांश प्रतिबद्घता पूरा गरेको छु, अस्पताल निर्माण, शिक्षा, सडक, भौतिक पूर्वाधारलगायत क्षेत्रमा धेरै कामहरु भएका छन्,’ उनले भने, ‘मैले साढे चारवर्षे कार्यावधिमा ‘डिस्टिङ्सन’ ल्याएको छु ।’ सगरमाथाको जिल्ला भनेर चिनिने सोलुखुम्बुलाई विश्वभर अझै परिचित बनाउन अन्य थप पर्यटकीय योजनाहरुको आवश्यकता औंल्याउँदै उनले सोलुदूधकुण्ड नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर विभिन्न योजनाहरु कार्यान्वयन गरेको उल्लेख गरे । ‘यो नगरपालिकामा सोलुखुम्बुको सदरमुकाम सल्लेरी पनि पर्ने भएकाले यहाँ आउने पर्यटकलाई चाहिने होटललगायत विभिन्न पूर्वाधारको विकास हुँदै गएको छ ।

नगरपालिकाले वरिपरिको क्षेत्रमा पर्यटकलाई लक्षित गरेर विभिन्न योजना तर्जुमा गरिसकेको छ,’ उनले भने । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला समिति सभापति समेत रहेका ३९ वर्षीय शेर्पाले पछिल्लो समय पार्टीको स्थानीय तथा केन्द्रीय तहमा अधिकांश युवा पुस्ताले नेतृत्व लिइसकेको जनाए । ‘कांग्रेसको नवगठित केन्द्रीय समितिमा युवा पुस्ताका नेताहरुको बाहुल्य छ, स्थानीय तहमा पनि अधिकांश युवा पुस्ताहरु आएका छन् ।

यसले पार्टीभित्र नयाँ आशा र सम्भावना जगाएको छ,’ उनले स्पष्ट पारे । पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय चहमा चुनावी गठबन्धन गर्नेबारे भइरहेको छलफलप्रति टिप्पणी गर्दै उनले कांग्रेसका आमकार्यकर्ता चुनावी गठबन्धनको विपक्षमा रहेको धारणा राखे । ‘कांग्रेसका आमकार्यकर्ता अन्य पार्टीसँग स्थानीय तहमा चुनावी गठबन्धन होस् भन्ने पक्षमा छैनन्, नेता तथा कार्यकर्ताहरुको भावनालाई पार्टी नेतृत्वले ध्यानमा राखेर निर्णय गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया