सनातनी ब्राह्मणले कसरी अँगाले बौद्धमार्ग ?

बौद्ध धर्म–दर्शनका अध्येता र टिबेटियन भाषाविद् पुण्यप्रसाद पराजुलीको व्यकि्तत्व बहुआयामिक छ । विपश्यना ध्यान पद्धतिको अभ्यासबाट साधना सुरु गरेका उनको जीवनशैली आध्याति्मक र सरल छ ।

शिक्षण, बौद्ध धर्म–दर्शनको अभ्यास र कुशल अनुवादकका रुपमा साढे तीन दशकभन्दा बढी समय व्यतीत गरिसकेका उनका बौद्ध धर्म–दर्शनसम्बन्धी दर्जनौं किताबहरु प्रकाशित रहेका छन् । नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) मा लामो समयदेखि धर्म–दर्शनका प्राध्यापक रहेका उनले विभिन्न चर्चित बौद्ध धर्मका गुरुहरुको शिक्षालाई टिबेटियन भाषाबाट नेपालीमा अनुवाद गरिसकेका छन् ।

उनले अमेरिकाको कार्लटन कलेजका विद्यार्थीलाई बौद्ध धर्म–दर्शनसमेत अध्यापन गराउँदै आएका छन् । भोजपुरको चराम्बी गाउँमा जन्मी–हुर्किएका पराजुली सानैदेखि बौद्ध दर्शनप्रति आफू जिज्ञासु भएको बताउँछन् ।

…त्यति खेर गाउँमा सनातनी हिन्दु समुदायमा जातजातिका आधारमा छुवाछूत र विभेद गर्ने प्रचलन थियो, मलाई त्यो मन पर्दैनथ्यो । सबै जातजातिलाई कुनै प्रकारको विभेद नगरी समान व्यवहार गर्ने बौद्घ दर्शनले मलाई प्रभावित पार्यो, उनी भन्छन्, …त्यही भएर मैले यो दर्शनलाई आत्मसात गर्ने निर्णय गरेँ ।

२०४० सालमा उच्चशिक्षाका लागि राजधानी आएपछि बौद्ध गुरुहरु, रिम्पोचे, लामाहरुसँग उनको सत्संग बढ्दै गयो, उनले यसमा आफ्नो अध्ययनलाई पनि बढाउँदै गएँ । बौद्ध ध्यान–साधना पनि सुरु गरे उनले । एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका सानैदेखि तीक्ष्ण र मेधावी पराजुलीले फिजिक्स, म्याथ्मेटिक्स लिएर बिएस्सी उत्तीर्ण गरे । त्यसपछि भने मानवशास्त्र र बौद्ध दर्शनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे ।

हिन्दु परिवारमा जनि्मएको व्यकि्तले बौद्ध दर्शन अवलम्बन गर्दा उनको परिवारबाट भने कुनै अवरोध भएन । तर, गाउँका कर्मकाण्डी ब्राह्मणहरुका लागि भने त्यो पाच्य थिएन । …बाहुनको छोरो भएर बौद्ध धर्मतिर किन लाग्नुपर्यो ? आफ्नो सनातन परम्परा भत्काउनु त भएन नि ? त्यस बेला गाउँ जाँदा उनलाई पणि्डत र पुरोहितहरुले यस्तैयस्तै प्रश्नहरु गर्थे ।

बौद्ध दर्शनलाई जीवन पद्धति बनाउने अठोट गरिसकेका उनी ती प्रश्नहरुको प्रतिवाद गर्न जरुरी ठान्दैनथेँ । …भगवान बुद्धले यो धर्म अँगालेका मानिसले मात्र बौद्धमार्ग अपनाउन मिल्छ भनेर कतै भन्नुभएको छैन, यो कर्मकाण्डी पुरोहितहरुले फैलाएको अफवाह हो । त्यति बेला बुद्धको संघमा पनि ६० प्रतिशतभन्दा बढी ब्राह्मण समुदायका मानिस रहेका थिए, उनी उल्लेख गर्छन् ।

चार दशकको बौद्ध मार्गको अभ्यास र साधनाबाट आफूमा व्यापक परिवर्तन हुनुका साथै जीवन रुपान्तरण भएको उनको स्वमूल्यांकन छ । …आगामी दिनमा भने बौद्ध धर्म–दर्शन र ध्यान–साधनामै बढी केनि्द्रत हुने योजना छ, उनले भावी योजना सुनाए ।

 

प्रतिक्रिया