नेपाली कांग्रेस, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ राजनीतिलाई पेशा होइन सेवाको बिषय बनाउनु पर्ने ठान्दछन् ।

यसका लागि नेता कार्यकर्ताले आफ्नो जिवीकोपार्जन निम्ति नियमित आयस्रोत जुटाउन पेशा व्यवसाय गर्दै राजनीतिमा क्रियाशील रहनुपर्ने सभापति बानियाँको धारणा छ । कुनै नियमित पारदर्शी आयस्रोत नभएका तर राजधानीमा सुविधासम्पन्न घरमा ठाँटसँग बसेका राजनीतिक मानिसहरुमा नैतिक बल एकदमै कमजोर हुने सभापति बानियाँ बताउँछन् ।

अरुको खुट्टामा उभिएको मानिसले नैतिक बल जोगाउन नसक्ने उनको विश्वास छ । युवा अवस्थादेखि नै राजनीतिमा सक्रिय रहेका नेता बानियाँ उद्योग व्यवसायमा उत्तिकै संलग्न छन् । राजनीतिको माध्यमबाट युवालाई गरिखाने सीप र अवसर दिनुपर्छ भन्ने सोच सहित क्रियाशील रहेका नेता बानियाँ विभिन्न पेशा व्यवसायमा सफलता हासिल गरेका व्यक्तिहरु राजनीतिमा आएर देशको समृध्दिका लागि योगदान गर्नुपर्ने ठान्दछन् ।

बागमती प्रदेशमा विपक्षी दलको नेताको भूमिकामा पनि सक्रिय नेता बानियाँ अति दुर्गम क्षेत्रमा कष्टपूर्ण जीवनयापन गरिरहेका चेपाङ लगायतका समुदाय र विलाशी जीवन बिताईरहेका शहरिया नागरिकको जीवनस्तरमा विद्यमान विशाल अन्तरमा समानता ल्याउनु निकै चुनौतिपूर्ण काम भएको बताउँछन् ।

‘प्रदेश सरकारको साधन स्रोतको भरपूर उपयोग गरेर अभावको कष्टकर जीवन बिताईरहेका नागरिकलाई दरिद्रीबाट मुक्त गर्न हरसम्भव प्रयाश गर्नेछु, यो मेरो राजनीतिक जीवनको ठूलो लक्ष्य हो,’ सभापति बानियाँको अठोट छ ।

प्रतिक्रिया