समाचार विश्लेषण

प्रचण्डको ‘शान्तिपूर्ण क्रान्ति’ र जनमतको तागत

काठमाडौं । आजभोलि ‘भरोसा’ शब्द नेपाली समाजमा सबैभन्दा अविश्वसनीय र आशंकायुक्त शब्द बन्न पुगेको छ । जो आफैंमा पुष्ट सन्देश धारण गरेको शब्द हो  ।  भरोस या भरोसालाई अथ्र्याउँदै नेपाली बृहत् शब्दकोषमा लेखिएको छ– कुनै काम, व्यवहार आदिमा अरुबाट हुने भरको आशा वा विश्वास । अर्थात् आधार, भर, आश्रय, टेको ।

कति भरिलो छ यसको सन्देश । 

भरोसा शब्दले वरण गरेको सन्देशको अपमान कसैले गरेको छ भने त्यो राजनीतिक दलहरुले नै गरेका छन् । उनीहरुकै संगतमा परेर सिको गर्दै यो प्रवृत्ति समाजका अन्य क्षेत्र वर्ग समूहबाट पनि भरोसालाई फितलो, अविश्वसनीय र अर्थ न वर्थको शब्द जस्तो पंगु बनाईएको छ । 

नेपाल कम्युनिष्ट पार्टी माओवादीको जारी सम्मेलन/महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन यतिबेला चर्चाको शीर्ष स्थानमा छ । हिंसात्मक मार्गबाट सत्तामा चढेको माओवादीले यसवीच राजनीतिका धेरै उतारचढाव भोगिसकेको छ । भोग्दैजाँदा उसले आफ्नो हैसियत निर्धारण गरिदिने जनताको मतको शक्ति पनि बुझिसकेको हुनुपर्छ । यही आधारमा नेपाली समाजले आशा गरेको थियो, यो दलले आफ्नो विगतको कठोर समीक्षा गर्नेछ र जनतासँग क्षमा माग्दै नयाँ शिराबाट क्रियाशील हुनेछ ।

तर भएन त्यस्तो । प्रचण्डले महाधिवेशनमा पेश गरेको प्रतिवेदन विगतको समीक्षा प्रति पूर्ण रुपले उदासिन देखिन्छ । अझैपनि स्थापनाकालदेखि रटिँदै आएका कम्युनिष्ट शब्दावलीलाई नचाएर प्रचण्ड आत्मश्लाघामा रमेको देखिएको छ । तर प्रचण्डको भाषिक शब्दजाल यतिबेला भने सिंगो समाजको प्रश्नचिन्हमा परिसको छ । बदलिँदो परिवेशमा आफूलाई सुधार्दै वैकल्पिक राजनीतिक दल बनाउन माओवादी तयार होला कि भनी गरिएको आशामा तुषारापात भएको टिप्पणी गरिएको छ । प्रचण्डको यो हठ पनि उनी स्वयंमाथि भरोसा गर्न नसकिने कारण बनेको छ ।  

संविधान सभाको पहिलो निर्वाचनको मिति तोक्ने बिषयमा लामो अलमल भैरहेका बेला प्रचण्ड सबैभन्दा बढी छटपटीमा परेका नेता थिए । देशको प्रमुख कार्यकारी अधिकार सहितका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । मिति तोक्ने एजेन्डा कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी उनको जिम्मामा थियो । तर कोइराला टसमस थिएनन् । आन्तरिक वा वाह्य जे कारणले होस् संविधान सभाको निर्वाचनको मिति तोक्न हतारिएका थिएनन्, उनी निश्चिन्त झैं देखिन्थे । 

संविधान सभाको निर्वाचनमा गहिरो स्वार्थ जोडिएका ठूला दाता राष्ट्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र तिनको दानापानीमा क्रियाशील गैरसरकारी संस्थाको पसिना छुटिसकेको थियो । यी सबै पक्षको दवावमा थिए प्रचण्ड । समाजमा डरको प्रभाव कायमै थियो माओवादीको र यही दवावको शक्तिमा चलखेल गरिरहेका थिए प्रचण्ड । तर जतिसुकै दवावको शक्ति भएपनि प्रचण्डसँग प्रधानमन्त्री कोइरालालाई कज्याउन सक्ने तागत भने थिएन । कोइरालाले सत्ता नछाड्ने पो हुन् कि भन्ने मनको बाघले प्रचण्डलाई आतंकित पारिरहेको थियो । यस्तो अवस्थामा प्रचण्डको मनको बह पोख्ने नेता थिए नेकपा एमालेका तत्कालिन अध्यक्ष माधवकुमार नेपाल । यी दुइ नेता बिहानै बालुवाटार जान्थे, प्रधानमन्त्री कोइरालासँगै बसेर रातो चिया पिउँथे र खाना खान घर फर्कन्थे । निकै लामो सयमसम्म जारी रह्यो उनीहरुको यस्तो दिनचर्या ।

सदा झैं एकदिन प्रचण्ड र नेपाल बिहानै पुगे बालुवाटार । कोइराला भुँइतलामा झरेकै थिएनन् । निकैबेल फर्किँदा पनि उनी नझरेपछि दुइ नेता निस्किए बगैंचातिर । अनि एककिसिमले रुष्ट मुद्रामा उनीहरुले आपसमा कुराकानी गरे र कुराकानीको शीर्षक थियो कोइरालाको अटेरी स्वभाव । अब यसरी सहेर पर्खिरहन सकिँदैन भन्ने निष्कर्षमा पुगेका प्रचण्डले नेपालसँग भने– ‘कमरेड अब यसरी हुँदैन । कोइरालाले निर्वाचन चाहेका छैनन्, यिनीबाट हुँदैन । अब तपाईं प्रधानमन्त्री बन्नुपर्छ, म कोइरालाई आजै अहिले नै यो कुरा राख्छु । कमरेडले नाईं नभन्नुहोला ।’

नेपाल अक्क न बक्क परे । शक्तिशाली थिए प्रचण्ड नाईं पनि भन्न सकेनन्, भरोसा गरिहाल्न पनि सकेनन् ।
 
निकैबेर यस्तै कुराकानी गरिरहेका दुइ नेतालाई भित्र जान खबर आयो, उनीहरु तुरुन्तै भित्र पसे । भित्र प्रधानमन्त्री कोइराला सोफामा बसिरहेका थिए । उनले दुवैजनालाई स्वागत गर्दै भलाकुसारी सुरु गरे ।

माधव नेपाल र प्रचण्ड उत्तर दक्षिण फर्केर बसेका थिए । नेपाललाई लागेको थियो अब प्रचण्डले बाहिर बगैंचामा आफूलाई प्रधानमन्त्री बन्न राखेको प्रस्ताव कसरी पो राख्ने हुन् । सुनेर कोइरालाको प्रतिक्रिया कस्तो हुने हो । निकै असजिलो मनस्थितिमा थिए उनी । कतै यो प्रस्तावले कोइराला भड्किने हुन् कि । राजनीति नै तनावमा पो पर्ने हो कि भनेर उनी तनावमा परिसकेका थिए । 

तर अपेक्षा विपरित प्रचण्डले त माधव नेपालतिर हेर्दै नहेरी कोइरालालाई सकेको चाँडो निर्वाचनको मिति तोक्न सदाझैं अनुनय पो गरे । यतिमात्र होइन उनले कोइरालाले नगरे संविधान सभाको निर्वाचन गराउन सक्ने नेता अरु कोही पनि नभएको समेत भन्न बाँकी राखेनन् । यता माधव नेपालका कान राता भैसकेका थिए अनुहारमा समेत त्यो रंग चढीसकेको थियो । उनी स्तव्ध भए । प्रचण्डको यस्तो व्यवहार प्रत्यक्ष भोगेका नेपालले देशकै सबैभन्दा भरोसा गर्न नसकिने नेताको स्थानमा प्रचण्डलाई राखेका थिए । त्यसपछि उनीहरु लोकलाजका लागि मात्र हात मिलाउँथे तर नेता नेपालको मनबाट प्रचण्ड तल झरीसकेका   थिए ।

भरोसा गर्न नसकिने नेताको पहिचान प्रचण्डले यहींबाट बनाएका थिए भनेर नेता नेपालले निकटस्थ पत्रकारहरुसँग उसैबेला सुनाएका थिए । पछि निर्वाचन भयो । झक्कु सुवेदी भिडाएर आफूलाई हराएको भनेर माधव नेपाल झर क्रुध्द भए प्रचण्डसँग । यसरी उनीहरुवीच सम्बन्ध झन् चिसिँदै गएको जानकारहरु बताउँछन् ।

अर्कोतिर माओवादी सुप्रिमो प्रचण्डले निवासमा बोलाईएका सम्पादकहरुसँग आफूले गरेका दुइ ठूला गल्ती टिपाएका थिए । पहिलो थियो भारतलाई आक्षेपसहित गाली गर्नु र दोस्रो गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्नु । यी दुइ ठूला गल्तीले आफूमाथिको भरोसा कमजोर भएको स्वीकार गर्दै प्रचण्ड स्वयंले सविस्तार ती सम्पादहरुसँग सुनाएका थिए । सम्भवत प्रचण्ड यिनै दुइ ठूला गल्तीको परिणाम भोगिरहेका हुनसक्छन् भन्ने गरिन्छ ।

एमालेसँगको एकता भत्किनुमा पनि यस्तै प्रवृति मुख्य कारण मानिएको छ । अध्यक्ष ओलीको दुुइतिहाईको सरकार पतन गराउनमा प्रचण्डको त्यही प्रवृतिलाई दोष दिईरहेका छन् ओली । 

प्रधानमन्त्री छँदा नेपाली सेनाको नेतृत्व फेर्न गरेको असफल प्रयाश प्रचण्डको सबैभन्दा ठूलो राजनीतिक अदूरदर्शिता भनी चर्चा हुने गरेको छ ।

यस्तै भरोसा गर्न नसकिने प्रवृतिकै कारण प्रचण्डसँग ‘जनयुध्द’ का अन्तरंग कमरेडहरुले संगत परित्याग गरेर एमालेमा प्रवेश गरेको दृष्टान्त दिने गरिएको छ । 

लामो सयमदेखि पार्टीको नेतृत्वमा एकछत्त प्रभुत्व जमाएर बसेका प्रचण्डले अब पनि त्यो पद छाड्ने सम्भावना देखिँदैन । आन्तरिक लोकतन्त्र नाजुक अवस्थामा रहेको माओवादीभित्र नेतृत्व परिवर्तन छलफलको बिषय नै बन्न नसक्ने जस्तो देखिएको छ । जारी आठौं महाधिवेशनमा यस्तै गतिविधि देखिएको छ । सम्झौतामा टुंगिएको ‘जनयुध्द’ को असफलता र त्यसकालमा गरिएका चरम हिंसाका अमानवीय घटनाको जिम्मेवारी लिँदै पार्टीको नेतृत्व परिवर्तन गर्लान् भनी गरिएको आम अपेक्षालाई प्रचण्डको शब्दजालले पानी छ्यापीदिएको छ । उनी ‘शान्तिपूर्ण क्रान्ति’ को जाली भाष्यमा आगामी राजनीतिलाई इन्धन भर्ने प्रयाश गरिरहेका छन् । जसलाई आजको पुस्ताले पत्याउने कुनै आधार देखिँदैन । 

जनता जनार्दन हुन् । पछिल्लो आमनिर्वाचनमा निकटतम प्रतिद्वन्दी बनिसकेका प्रचण्डलाई सर्वलीय सहमतिमा मत वर्षा गराएर संघीय संसदमा प्रवेश गराईएको निकट इतिहास विस्मृतिमा गैसकेको छैन । जनताले कसरी दण्ड दिन्छन् र त्यो कति कठोर हुन्छ भन्ने कुरा भोगीसकेका उनै प्रचण्ड आज पनि शब्दजालको इन्धन भरेर आफ्नो राजनीतिक सवारी हाँकिरहन उद्यत देखिएका छन् । भविष्यमा हुने निर्वाचनमा उनको राजनीतिक प्रतिवेदन पढिरहेका जनताले कस्तो जवाफ दिने हुन् त्यो कसैबाट छिप्ने छैन । 

भरोसा गुमाउने र भरोसा शब्दको मानमर्दन गर्ने कोही पनि समयको कठोर तराजुमा जोखिनबाट बच्न सक्दैन । यही नै तीतो सत्य हो  । 
 
 
 
 

प्रतिक्रिया