इलाम २ उपनिर्वाचन: ‘राजनीतिक पर्यटन’को घुइँचो

इलाम। यही बैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको गर्मी केन्द्रदेखि जिल्लासम्म छ। निर्वाचन परिणामले शीर्ष राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको भावी राजनीतिको रुपरेखा कोर्ने भएकाले यसलाई प्रतिष्ठाको विषय बनाइएको छ।

चुनावी परिणाम अंग गणितीय रुपमा जेसुकै भएपनि दलहरुले आफ्नो प्रतिष्ठा र भावी राजनीतिको दिशानिर्देश गर्ने निश्चित छ। सोही कारणले पनि इलाम २ राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा छ।

राजनीतिक अदलबदल र सत्ता समीकरणका हिसाबले पनि इलाम २ को उपनिर्वाचन मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र कोशी प्रदेश नामाकरण विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरुले विशेष चासोका साथ हेरेका छन्। एमाले अढाइ दशकदेखिको आफ्नो विरासत जोगाउने तयारीमा छ भने कांग्रेस विरासत भत्काउने अभियानमा छ।

अन्य दल र स्वतन्त्र उम्मेदवारहरु आफूलाई इलाममा स्थापित गराउने दाउमा छन्। विशेषगरी पहिचानवादीहरुले उपनिर्वाचनलाई आफ्नो आन्दोलनको रुपमा हेरेका छन्। त्यसैले पनि इलाममा राजनीति गर्माएको छ र ‘राजनीतिक पर्यटन’को गतिविधि बढेको छ।

२०७९ को निर्वाचन भन्दा हालको उपनिर्वाचन परिस्थितिका हिसाबले फरक रहेको छ। मतदाताको मनोविज्ञान र भावना केही परिवर्तन भएको बुझेका उम्मेदवाहरु परिणाम आफ्नो पक्षमा पार्न सक्दो मेहेनत गरिरहेका छन्।

प्रतिष्ठा र भावी राजनीति दिशानिर्देश गर्ने भएकाले इलाम यतिबेला केन्द्रीय नेताहरुको भ्रमण गर्ने गन्तब्यका रुपमा पनि विकसित भएको छ। ‘राजनीतिक–पर्यटन’ इलाममा मजाले फष्टाएको छ। कार्यकर्ता र नेताहरुको भ्रमणले इलामको पर्यटनमा थोरै मलजल पुगेको छ। होटल हाम्रो पोखरेलीका संचालक विजय राई कार्यकर्ता र नेताहरुले होटल बुकिङले गर्दा १० दिन यता कारोबार राम्रो भइरहेको बताउँछन्।

“राजनीतिक पर्यटनले व्यवसायीलाई केही उत्साहित गराएपनि यो दिगो होइन। चुनावका बेला नेताहरुको मिठो भाषण, महत्वकांक्षी योजना सुन्न पाइन्छ। होटलमा घोषणा पत्रका बारेमा उत्तेजित योजनाहरु सुन्न पाइएको छ तर पर्यटन प्रवद्र्धन र विकासका लागि उपलब्धी सोचे अनुसार काम भएको छैन,” उनले भने, “पर्यटनका लागि इलामले धेरै गर्नुपर्नेछ। केन्द्रीय नेताहरुको भ्रमणले केही सुधार हुने अपेक्षा चाहीं गर्न सकिन्छ।”

हुन पनि इलामको माटोमा पाइला नै नटेकेका नेताहरुलाई यसपाली घुम्ने मौका मिलेको छ। भौतिक विकासका दृष्टिकोणले कमजोर रहेको इलाम क्षेत्र नम्बर २ का स्थानहरुमा नेताहरुको उपस्थितिले स्थानीय केही उत्साहित छन्।

उम्मेदवारी दर्ताकै दिन मात्र दर्जन बढी केन्द्रीय नेताहरु इलाममा थिए। त्यसपछि निरन्तर फरक फरक दलका नेताहरु इलामको भ्रमणमा छन्। दुई दिन भएपनि गाउँमा पुगेर मतदाताको समस्या सुन्न भ्याइरहेका छन्।

उपनिर्वाचनकै सिलसिलामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरु आफ्ना उम्मेदवारको चुनावी अभियानका लागि इलाम पुग्नेक्रम अहिले पनि जारी छ।

कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काको उम्मेदवारी दर्तामा सहमहामन्त्री भिष्मराज आङदेम्बे, बन्द्री पाण्डे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतको टोली इलाममा थिए। त्यसपछि कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला इलाम पुगेर तस्विर खिचाइसकेका छन्। डा.कोइराला मंगलबार किराँत धर्मगुरुको बसोबास रहेको लारुम्बा भ्रमणमा थिए। विश्वप्रकाश चुनावी कमान्डर नै भएकाले इलामका गाउँमा बाक्लै देखिएका छन्।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बाक्लो रुपमा इलाम बसिरहेका छन्। चुनावी कमान्डर नै भएकाले उनी आफ्नो दलका उम्मेदवार जीतवहादुर राईले चुनाव जित्ने ठोकुवा गरिरहेका छन्। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेतृ नविना लामालगायत यसअघि नै इलाम पुगेर घरदैलो गरिसकेका छन्।

गत ११ चैतमै सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएपछि दिंवगत नेता सुवास नेम्बाङको निवास सुन्तलावारीस्थित घरमा पुगेर अन्तरक्रिया गरेका थिए। साथै पूर्वमन्त्रीहरु भानुभक्त ढकाल, तिलकुमार मेन्याङ्बोलगायत नेताहरुले चुनावी कार्यक्रममै भाग लिएका थिए।

केही दिनमै अध्यक्ष केपी शर्मा ओलीले इलाम पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले इलामले जनाएको छ। एमालेका तर्फबाट पूर्वउपसभामुख एवं पार्टी नेता शिवमाया तुम्वाहाम्फेले उपनिर्वाचनको संयोजन गरिरहेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई रास्वपाले चुनावी संयोजन गरेर काम गरिरहेका छन्। सभापति रवि लामिछाने यसअघि नै इलाम पुगेर आफ्नो दलका उम्मेदवार मिलन लिम्बुलाई सार्वजनिक समारोहबिच नै घोषणा गरे।

लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायत सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाललगायतका नेताहरु पनि इलाम उत्रीएर घरदैलो गर्न भ्याइसकेका छन्।

हाल सरकारमा रहेका चार मन्त्री पुनः इलाम जाने तयारीमा छन्। पार्टीका उम्मेदवार लिम्बूको चुनावी प्रचार–प्रसारका लागि सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेसहित चार मन्त्री इलाम जाने महामन्त्री मुकुल ढकालले जानकारी दिए। शिक्षामन्त्री सुमना श्रेष्ठ, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, श्रम मन्त्री डिपी अर्यालले फरक फरक मितिमा इलाममा घरदैलो गर्ने कार्यक्रम तय भइसकेको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउत पनि इलामको भ्रमण गर्न भ्याइसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रित अध्यक्ष राजेन्द्र लिङ्देन र बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन्। राउतले कन्याममा घोडसवार नै गरेर तस्विर खिच्न भ्याए। अरु नेताहरुपनि चियाबारी डाँडामा उक्लिएर तस्विर खिचाउन होडबाजी गरिरहेका छन्।

कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने भनिएको इलाममा यसपाली नयाँ दल रास्वपा र पहिचानवादीरुका उम्मेदवार थपिएपछि चुनावी माहोल बदलिएको छ। आगामी २०८४ सालको निर्वाचनका लागि नयाँ सन्देश प्रवाह गर्ने उद्देश्यका साथ नेताहरु इलाम भ्रमणलाई बाक्लो बनाइरहेका छन्।

पुराना दलहरुका लागि टाउको दुखाइ बनेका पहिचानवादीका उम्मेदवार डकेन्द्रसिंह थेगिमको पक्षमा माहोल बनाउन धरान उपमहानगरका मेयर हर्क साङपाङ पनि इलाम ओहोरदोहोर गरिरहेका छन्।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई थेगिमको पक्षमा माहोल बनाउन यसअघि नै इलाम पुगिसकेका छन्। त्यसवाहके लिम्बुबान आन्दोलनका नेता एवं संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रित अध्यक्ष कुमार लिङदेन लगायत नेताहरुले इलामलाई भ्रमणको केन्द्रमा राखेका छन्।

नेताहरुको इलाम दौडधुप राजनीतिक प्रतिष्ठा, भावी रुपरेखा मात्र नभइ इलाम घुमघामको मेसो पनि बनेको छ। यसलाई कतिपयले ‘राजनीतिक पर्यटन’ भनेका छन्। विकासका दृष्टिकोणले पछि परेको इलाम २ का गाउँहरुलाई दशकौंसम्म सम्बोधन गर्न नसकेका नेताहरुका लागि उपनिर्वाचनलाई एउटा परीक्षाका रुपमा हेरिएको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया