उपत्यकाको पहिलो हुस्सुको ड्रोन भिडियो र फोटो

उपत्यकाको पहिलो हुस्सुको ड्रोन भिडियो र फोटो

काठमाडौं : शुक्रवार उपत्यकामा हल्का पानी पर्दा निकै जाडो महसुस भएको थियो । शनिवार विहान जाग्दा उपत्यकाबासीले एक्कासी हुस्सु लागेको देखे । यस वर्षको यो पहिलो हुस्सु थियो, जसले उपत्यकाबासीलाई जाडो यामको मौलिक प्राकृतिक आयामसँग साक्षात्कार गरायो ।

उपत्यकामा कुनैबेला कुन हदसमम हुस्सु लाग्थ्यो भने दिउँसै सडकमा गुडने गाडीहरुले हेडलाइट बाल्नुपथ्र्यो । नजिकैका मानिसहरु पनि देख्न हम्मेहम्मे पथ्र्यो । दिउँसो १२ बजेपछि मात्र मानिसहरुले घामको दर्शन पाउँथे, हुस्सु लाग्ने क्रम लामो समयसम्म जारी रहन्थ्यो । केही दशक यता बढदो जनघनत्वसँगै उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लाग्ने क्रम घटदै गएको छ । नयाँ पुस्ताले पहिलेजस्तो बाक्लो हुस्सु देख्न पाएका छैनन् ।

शनिवारको हुस्सु पनि खासै बाक्लो थिएन, तर यो सिजनकै पहिलो हुस्सुका कारण यसले धेरैको ध्यान तान्यो । धेरैले हुस्सुको तस्वीर सामाजिक संजालमा पोष्ट गरे ।

दृश्य टिभीको टिमले ड्रोन क्यामरालाई उपत्यकाको आकाशमा उडायो, हुस्सुको तहभन्दा माथिसम्म । हुस्सुले छेकेको हिमाल टलक्क टल्कीयो, अनि कपासझैं हुस्सुको तह स्पष्ट देखियो । विस्तारै हुस्सु छिचोल्दै ड्रोन उपत्यकाको विहंगम दृश्य छायांकन गर्दै तल अवतरित भयो ।

आखिर यस्तो हुस्सु लाग्छ कसरी ? यसको वैज्ञानिक कारण छ । पृथ्वीको सतह निकटको तापक्रम एकदम कम भएपछि आकाशमा पानीका स–साना कण जम्न थाल्छन् । अर्थात सतहमा सापेक्षिक आद्रता बढदै जाँदा यसले हावामा पानीको मात्रा बढाइदिन्छ । चिसोका कारण हावामा भएको पानी निकै साना कणका रुपमा जम्न थाल्छन्, जुन तल जमीनमा खस्न सक्दैनन् । विहानपख जव सूर्योदय हुन्छ, सूर्यको तापका कारण ति पानीका सुक्ष्म कणहरु पग्लीएर वाफमा परिणत हुन्छन् र हुस्सुका रुपमा देखिन्छन् ।

ताप बढदै जाँदा हुस्सु र कुहिरा फाटदै जान्छन् । ति सुक्ष्म पानीका कण उडेर आकाशतिर गएपछि छर्लंग घाम देखिन्छ । जति बाक्लो हुस्सु हुन्छ, यसलाई तताउन उति समय लाग्ने भएकाले उपत्यकाबासीले हुस्सु लागेको दिन मध्यान्हतिर मात्र घाम लागेको अनुभव गर्छन् । जाडो याममा घाम छडके परेर लाग्ने भएकाले दिनभरी जमीन राम्ररी तात्न पाउँदैन ।

राती आकाशमा बादल नहुने भएकाले दिनभरी पृथ्वीमा संचित ताप पनि विकिरणमार्फत आकाशतिरै फर्कन्छ । यसले गर्दा धरतीको सतह नजिक सापेक्षिक आद्रता अर्थात चिस्यान बढदै जान्छ । सतहमाथिको भागमा चिसो बायुको तह निर्माण हुने भएकाले त्यो हुस्सुमा परिणत भइरहनु जाडो यामको आम प्राकृतिक स्वभाव हो ।

 

 
 

 

प्रतिक्रिया