प्रारम्भिक टिप्पणी

किन पछि परे ठूला दल, कहाँ चुक्यो सत्ता गठबन्धन?

काठमाडौं। उपनिर्वाचनको प्रारम्भिक मत परिणामले परम्परागत राजनीतिक शक्तिहरुको विकल्पको खोजी गरेको संकेत गरेको छ। यसअघिको सबैजसो निर्वाचनमा आलोपालो पकड बनाउँदै आएका ठूला दलहरुको अपेक्षा विपरित यो उपनिर्वाचनमा नयाँ शक्तिले मतदाताको समर्थन पाएको देखिएको छ। तीनवटै निर्वाचन क्षेत्रका अन्तिम मत परिणाम आउन त बाँकी नै छ तर आईसकेको परिणामले ठूला दलहरुका लागि सुखद समाचार ल्याईरहेको छैन। 

सार्वजनिक भैसकेको परिणामबाट सत्ता गठबन्धन सहितका ठूला राजनीतिक दल तर्सिएका हुनसक्छन्। बारा, चितवन र तनहुँ गरी तीन निर्वाचन क्षेत्रमा हिजो वैशाख १० मा सम्पन्न निर्वाचनमा प्रकट भएको मतमा ठूला राजनीतिक दलहरुप्रति बढ्दो वितृष्णा प्रतिविम्वित भएको देखिएको छ। तनहुँ क्षेत्र नम्बर एकको मत गणनाको आधारमा हेर्दा मतदाताको रुचि परिवर्तन भैरहेको कुरा प्रष्टसँग देख्न सकिन्छ। मत गणना बाँकी नै छ तर गणना भैसकेको मतबाट यस्तो संकेत देखिएको छ।

खासगरी तनहुँ एकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई प्राप्त मतले मतदाताको रुझान कता ढल्केको छ भन्ने प्रष्ट सन्देश दिएको छ। कहिले नेपाली कांग्रेस र कहिले एमालेले जितेको यो क्षेत्रमा गएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जितेका थिए। उनी राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको यो क्षेत्रमा उपनिर्वाचन हुँदा नेपाली कांग्रेसबाट निर्वाचनको मुखैमा अलग भएर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका स्वर्णिम वाग्लेले झण्डै दोब्बर मतले अग्रता लिईरहेका छन्। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराई दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् भने एमालेका उम्मेदवार पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल तेस्रो स्थानमा पछ्याईरहेका छन्।

बारा र चितवनको मत परिणाम आउने क्रममा छ। त्यहाँ कसले अग्रता लिन्छ भनेर प्रारम्भिक मत परिणामले प्रष्ट संकेत गरिसकेको छैन। बारामा पनि गठबन्धनको समर्थन पाएका उपेन्द्र यादवको अवस्था यसै होला भनेर भन्न सकिने देखिँदैन। उनका निकटतम प्रतिद्वन्दी शिवचन्द्र प्रसाद कुशवाहाले यादवलाई उछिन्ने सम्भावना देखिँदैछ। सप्तरीमा जनमत पार्टीका उम्मेदवार सीके राउतसँग १८ हजार मत अन्तरले हारेका यादवलाई प्रतिनिधि सभामा ल्याउन सत्ता गठबन्धनले बारामा उपनिर्वाचन लडाएको हो।

गठबन्धनले धेरै महत्व दिएको क्षेत्र तनहुँ नै हो, जहाँ ती दलका शीर्ष नेताहरु आलोपालो गरेर प्रचारमा उत्रिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरुले निर्वाचन सभाहरुमा प्रशस्त आश्वासन वर्षाएका थिए। तर शीर्ष नेतृत्वको आश्वासनले मतदाताको बदलिँदो मनोविज्ञानमा कुनै असर परेको देखिएन।

निर्वाचन परिणामलाई नियालीरहेका मानिसहरु मतदाताले ठूला राजनीतिक दलहरुको विकल्प चाहेको तर्क गरिरहेका छन्। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमा रहेका युवा नेताहरुले आआफ्नो पार्टीको परम्परागत ढर्रालाई परिवर्तन गर्न आँट नगरेकाले मतदाताको परिवर्तनको चाहनामा ठेस पुगेकाले वाध्यतावस नयाँ उम्मेदवारको भागमा मत परेको विश्लेषण गरिएको छ। यही अवस्था रहने हो भने चार वर्ष पछि हुने तिनै तहको निर्वाचनमा पुराना राजनीतिक शक्तिले आफ्नो स्थान सुरक्षित गर्न ठूलै मेहनत गर्नुपर्ने उनीहरुको तर्क छ।

Leaders 111

उपनिर्वाचनको मत परिणाम सार्वजनिक भैरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको धारणा राखेका छन्। निर्वाचन परिणामको समीक्षा गर्न आज बसेको संसदीय दलको बैठकमा सभापति देउवाले दलका सदस्यहरु समक्ष यस्तो धारणा राखेका हुन्।

सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको सांसदहरु बताए।

यो निर्वाचन परिणामलाई विश्लेषण गरेर मात्र आगामी बजेट निर्माण गर्नुपर्ने सभापति देउवाको भनाई थियो। सभापति देउवाले देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएका थिए।

नेपाली कांग्रेसका दुइजना महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले कमाण्ड गरेको यो उपनिर्वाचन परिणामले उनीहरुको नेतृत्व कौशल र भावी राजनीतिक जिम्मेवारी समेत निश्चित गर्ने टिकाटिप्पणी हुनथालेको छ।  

यही गतिमा वैकल्पिक शक्तिको पक्षमा अन्तिम परिणाम आयो भने ठूला दलहरुले निधार खुम्च्याएर आफ्नो खोट पहिल्याउनुपर्ने हुन्छ, कि कहाँ चुके उनीहरु, कहाँ रह्यो खोट? के दलहरुभित्र मौलाउँदै गएको जहाँनियाँ प्रवृत्ति विरुध्द मतदाताले शान्तिपूर्ण विद्रोह त गरिरहेका छैनन्? के लोकतन्त्रको आवरणमा हुर्किँदै गरेको नवधनाढ्य संस्कृतिले पुराना र ठूला दलहरुको जगमा धमिरा त सल्किरहेको छैन? उपनिर्वाचनको सार्वजनिक हुँदैगरेको मत परिणामले यस्ता प्रश्न उठाउन चाहनेलाई प्रशस्त आधार दिएको छ।
 
 

प्रतिक्रिया