सूचनाको दुरुपयोग गर्ने सर्वेन्द्र खनालको धम्की

काठमाडौं। सर्वविदितै छ कि सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन्। निरीक्षकबाट प्रहरी संगठनमा भर्ना भएर महानिरीक्षसम्मको लामो यात्रा उनले तय गरिसकेका छन्। यो लामो यात्रामा उनी कति सफल भए, कति प्रश्नहरु छाडेर अवकाश भए भन्ने कुरा त कि उनैलाई भलिभाँतीसँग थाहा छ कि प्रहरी संगठनलाई। सर्वसाधारण जनलाई यस्ता कुरामा धेरै चासो पनि हुँदैन, चासो नभएपछि ज्यादा जानकारी हुने कुरै भएन।

यत्ति त सबै थाहा छ कि सर्वेन्द्र खनाल देशको एउटा महत्वपूर्ण र संवेदनशील सुरक्षा अंगको प्रमुख थिए। नेपाल प्रहरीको लामो करिअरमा महानिरीक्षकसम्म भएका उनलाई कति धेरै महत्वपूर्ण सूचनाहरुको जानकारी होला। यो अनुमान गर्न पनि कठिन बिषय हो। ती सूचना सर्वेन्द्रको स्मृतिमा रहेबसे पनि ती त राष्ट्रिय सम्पत्ति नै हुन्। चाहे ती व्यक्ति–व्यक्तिसँग सम्बन्धित हुन् चाहे ती देशसँग सरोकार राख्ने नै हुन्। एक जिम्मेवार सुरक्षा अधिकारी कहिले पनि अवकाश हुँदैन भन्ने मान्यता रहेको बताउँछन् जानकार व्यक्तिहरु। पूर्व महानिरीक्षक खनालले आफूसँग रहेका त्यस्ता सूचना व्यक्तिगत स्वार्थका लागि प्रयोग र दुरुपयोग गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा उनैलाई बढी थाहा छ। यो अरुले सम्झाउने बुझाउने बिषय नै होइन।

प्रसंग उपनिर्वाचनको

नेपाल प्रहरीबाट अवकाश लिएको लामो समय नबित्दै सर्वेन्द्र खनालले दलीय राजनीतिमा आफ्नो संलग्नता र सक्रियता बढाएका छन्। उनी यतिबेला नेकपा एमालेका कार्यकर्ता बनिसकेका छन् भने एमालेले उनलाई प्रतिनिधिसभाको आसन्न उपनिर्वाचनमा   तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनाएको छ। उनी निर्वाचन प्रचार प्रशारमा सक्रिय छन्। यही प्रचारकै क्रममा सर्वेन्द्र खनालले आममानिसको ध्यान खिच्नेगरी संवेदनशील अभिव्यक्ति दिएका छन्। उनले सम्पूर्ण राजनीतिक क्षेत्रलाई नै तरंगित तुल्याउने किसिमको अभिव्यक्ति दिएर आफ्नो पक्षमा निर्वाचनको लहर ल्याउने प्रयाश गरेका छन्। यसमा उनले आफैंलाई शंकाको घेरामा बन्दी बनाएको भनेर आलोचना पनि सुरु भएको छ। 

एमाले उम्मेदवार खनालले ‘नेपालका धेरै राजनीतिक दलका नेताको लुकेको रहस्य आफूलाई थाहा छ’ भनेर मतदाताको ध्यान खिच्न खोजेका छन्।

एमाले व्यास नगर कमिटीले दमौलीमा आयोजना गरेको निर्वाचन सभामा बोल्दै खनालले ‘धेरै नेताहरूको कुकृत्य आफूलाई थाहा छ’ भने। अझ जोडसँग उनले भने– ‘मसँग धेरै नेताको कुण्डली छ, आवश्यक परे जनताको माझमा सार्वजनिक गर्न सक्छु।’

‘देश र जनताको सेवा आफ्नो प्रमुख ध्येय भएको’ वर्णन गर्दै उनले यसको लागि चुनावी मैदानमा उत्रिएको प्रष्ट पारे। 

आफ्नो नेतृत्वमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाएको दावी गर्न पनि उनी पछि परेनन्। गुण्डाराजको अन्त्य आफ्नै पालामा गरेको उनको दाबी थियो। गुण्डाराजसँग सम्बन्धित मानिएका केही व्यक्तिलाई इन्काउन्टर भनेर सफाया गरेको जस पूर्व महानिरीक्षक खनाललाई नै दिन्छन् उनका उत्तराधिकारीहरु।

खनालले प्रहरी महानिरीक्षकको रूपमा ललिता निवास जग्गा काण्डका दोषीलाई कारबाही गर्न फाइल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको दावी पनि गरेका थिए।  

यहाँनेर प्रश्न उठ्छ, एउटा दलको उम्मेदवार भएको व्यक्तिले ‘आफूसँग नेताहरुको कुण्डली उतार्ने सूचना छ’ भनेर धम्की दिँदै मतदातासँग मतको याचना गर्न मिल्छ? कुनै उम्मेदवारले ब्ल्याकमेलिङ्ग शैलीमा मतदाता प्रभावित पारेर मत माग्दा के निर्वाचन आयोगले ध्यान दिनुपर्दैन? एमाले उम्मेदवार खनालको त्यो अभिव्यक्तिले के उनी स्वयंलाई अविश्वसनीय त बनाईरहेको छैन भन्ने प्रश्नहरु उठाउने ठाउँ दिएको छ।

स्मरणीय छ, नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु रुक्माङ्गद् कट्वाल र छत्रमान गुरुङ्गले अवकाश पाएलगत्तै वायोग्राफी प्रकाशित गरेर उच्चतम गोपनियताको मर्यादा र अनुशासन उल्लंघन गरेको भनेर सर्वत्र निन्दा र आलोचना भएको थियो। अझ कट्वालले त आफू प्रधान सेनापति पदमा नभएको भए नेपालमा गणतन्त्र नै आउने थिएन भन्नेसम्म अर्थ लाग्नेगरी हास्यास्पद दावी गरेका थिए। नेपाली सेनाको सर्वोच्च पदमा बसेका व्यक्तिले देशको संवेदनशील अंगको गोपनियता भंग गरेको आरोप पनि कट्वालमाथि लागिसकेको छ। 

नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले आफूसँग रहेको सूचनाको दुरुपयोग गर्ने संकेत गर्दै निर्वाचन प्रचारका क्रममा धम्कीको भाषामा मतको याचना गर्दा त्यसले कस्तो सन्देश प्रवाह गरिरहेको छ भनेर यतिबेला चर्चा सुरु भएको छ। के विगतमा अर्कै सेवामा रहँदाको सूचना र जानकारीलाई भविष्यमा अर्कै लाभका लागि उपयोग या दुरुपयोग गर्न मिल्छ र भन्ने प्रश्न यतिबेला सर्वेन्द्र खनाल स्वयंले उठाउने अवसर दिएका छन्।

प्रतिक्रिया