तपाईको भान्छामा सेन्थेटिक पनिर त पाक्दै छैन?

काठमाडौं। के तपाईले सेन्थेटिक पनिरको कुरा सुन्नुभएको छ। हो, नक्कली अर्थात आर्टिफिसियल तरिकाले निर्माण गर्ने पनिरलाई नै सेन्थेटिक पनिर भनिन्छ। खराब दुध, आटा, डिटर्जेन्ट पाउडर, पामोलिन तेल, ग्लिसरोल मोनोस्टियरेट पाउडर र सल्फ्युरिक एसिड जस्ता केमिकल प्रयोग गरेर सेन्थेटिक पनिरको निर्माण गर्ने गरिन्छ। 

तपाईहरूले दुध र घ्युमा हुने मिलावटको विषयमा त सुन्नु भएको होला तर पछिल्लो समय नक्कली पनिरको बिगबिगी बजारमा देखिन थालेको छ। हालै फुड कर्पोरेशन अफ इन्डियाले पूणेको एउटा फ्याक्ट्रीमा करिब ९ सय किलो नक्कली पनिर जफ्त गरेको छ। यसको मूल्य नै १ करोड ९८ लाख भारतीय रुपैयाँ बताइएको छ। 

नेपालमा अहिलेसम्म यस्तो घटना सुनिएको छैन। तर, खाध्यान्न सुरक्षा फितलो भएको नेपाल जस्तो देशमा भित्रभित्र यस्तो कार्य नभएको होला भन्ने अवस्था छैन। त्यसैले उपभोक्ताहरूले यस विषयमा चनाखो हुनु जरुरी छ। किनभने नक्कली पनिरले स्वास्थ्यमा थुप्रै समस्या ल्याउन सक्छ। 

नक्कली पनिरमा भएको केमिकलले किड्नी र लिभरमा समस्या ल्याउन सक्छ। सेन्थेटिक पनिरले पेटदर्द, डायरिया र उल्टीको समस्या हुन्छ। केही व्यक्तिलाई एलर्जीको समस्या पनि बल्झिन सक्छ। 

घरमा किनेर ल्याउने पनिर नक्कली हो कि होइन भनेर चेक गर्ने तरिका पनि छ। यसलाई औलाको बलले थिचेर हेर्नुहोस्। नक्कली पनिर हो भने यो खण्डित हुन्छ, किनभने यो पाउडर दुधले बनेको हुन्छ। शुद्ध पनिरमा यस्तो हुँदैन। 

अर्को उपाय भनेको पनिरलाई केही समय हल्का तातो पानीमा उमाल्नुहोस्। यो पानीमा सोयाबिनको आटा वा रहरको दालको पाउडर हल्का हाल्नुहोस्। आटा पानीमा हाल्ने वित्तिकै पनिरको रंग रातो भयो भने मान्नुहोस् त्यो पनिर नक्कली हो। 

यो किन रातो हुन्छ भने, नक्कली पनिर निर्माण गर्दा यसमा डिटर्जेन्ट र युरिया जस्तो वस्तु मिसाइएको हुन्छ। 

अर्को तरिकाले पनि नक्कली पनिर भन्ने थाहा पाउन सकिन्छ। यसका लागि पानीमा उम्लिएको पनिरलाई केहीबेर राखेर चिसो बनाउनुहोस्। र, यसमा केही ड्रप टिन्चर आयोडिन मिलाउनुहोस्। टिन्चर आयोडिन एन्टिसेप्टिक औषधी हो। यो घाउमा पनि लगाउने गरिन्छ। औषधी पसलमा यो सहजै उपलब्ध हुन्छ। टिन्चर आयोडिनलाई उम्लेर चिसो भएको पनिर पानीमा मिसाउदा पानिरको रंग निलो भयो भने त्यो नक्कली पनिर भनेर बुझ्दा हुन्छ। 
 

प्रतिक्रिया