भारतमा सबैभन्दा बढी बैंक खाता निस्क्रिय, ४८२६२ करोड रुपैयाँ ‘फ्रिज’

काठमाडौं। भारतमा सबैभन्दा बढी बैंक खाता निस्क्रिय भएको विश्व बैंकको ग्लोबल इनडेक्स रिपोर्टले जनाएको छ। 

भारतमा कूल बैंक खातामध्ये ३५ प्रतिशत खाता यस्ता छन्, जो पूर्ण रूपमा निस्क्रिय छन्। विश्व बैंकको नयाँ तथ्यांक अनुसार विगत एक वर्षयता २५ दशमलव ६३ करोड बैंक खाता निस्क्रिय फेला परेको हो। 

‘निस्क्रिय खाताको संख्या विश्वमा सबैभन्दा धेरै भारतमा छ,’ रिपोर्टमा उल्लेख छ। भारतमा १० वर्षदेखि निस्क्रिय बैंक खातामा भएको पैसालाई रिजर्भ बैक अफ इन्डिया (आरबीआई) मा पठाउने गरिन्छ। यो राशी आरबीआईको डिपोजिटर्स एजुकेशन एण्ड अवेरनेश (डीईए) फण्डमा गएर जम्मा हुने गरेको छ। 

रिपोर्ट अनुसार भारतमा थुप्रै बैंक खाता १० वर्षदेखि निस्क्रिय भेटिएको छ। ३१ मार्च २०२२ मा आरबीआईले डीईए फण्डमा जम्मा भएको रकमको तथ्यांक सार्वजनिक गरेको थियो, जसमा ४८ हजार २ सय ६२ करोड रुपैयाँ जम्मा भएको बताइएको छ। यो रकम मणिपुर, त्रिपुरा र मिजोरम जस्ता साना राज्यको वार्षिक बजेटभन्दा ठूलो हो। 

निस्क्रिय खातामा जम्मा भएको पूँजीलाई सुरक्षित राख्न गर्नु परेको खर्चले जहाँ बैंकलाई समस्या परिरहेको छ, त्यही आरबीआई पनि चिन्तित छ कि, यस्ता खातामा जम्मा पूँजीको गलत प्रयोग नहोस्। यी खताहरूबाट गलत काम हुनसक्ने तर्फ पनि आरबीआई चिन्तित छ। 
सन् २००९ मा आरबीआईले निस्क्रिय खातालाई सक्रिय बनाउन एउटा अभियानको थालनी नै गरेको थियो। उसले यसका लागि गाइड लाइनसमेत बनाएको थियो। तर, यति गर्दा पनि बैंक खाता सक्रिय हुनुको सट्टा थप निस्क्रिय भएको छ। 

विश्व बैंकले खाता निस्क्रिय हुनुलाई खाता खोल्ने व्यक्ति आर्थिक गतिविधिसँग नजोडिएको रूपमा लिएको छ। भारतका लागि यो स्थिति चिन्ताजनक भएको उसको भनाई छ। भारत विश्वको ठूलो जनसंख्या भएको देशको सूचीमा पर्छ। यहाँका करोडौं जनताहरू अझै पनि डिजिटल बैंकिङको सुविधासँग जोडिएका छैनन्। यसले देशको अर्थ नीतिमा असर परेको विश्व बैंकको निस्क्रर्ष छ।  
 

प्रतिक्रिया