कतारले नेपाली फुटबलसँगको सहकार्य तोड्ने सम्भावना

काठमाडौं। विश्व कप फुटबलको आयोजना गर्न लागेको कतारले नेपाली फुटबलसँगको लामो सहकार्य तोड्ने सम्भावना बढेर गएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को गत सोमबार सम्पन्न निर्वाचनबाट पंकज नेम्वाङ अध्यक्ष निर्वाचित भएपछि कतार केही सशंकित भएको हो। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल–मुताईरीसँगको विवाद र कोरोनाकालमा सबै प्रायोजकले हात उठाएको अवस्थामा नेपालको ‘ए’ डिभिजन लिग सञ्चालन गर्न कतार एयरलाइन्सले मुख्य प्रायोजन गरेको विषयमा नेम्वाङले प्रश्न उठाएका थिए। उनी त्यतिबेला एन्फाको वरिष्ठ उपाध्यक्ष थिए। 

एन्फामा नयाँ कार्यसमिति निर्वाचित भएर आउँदासमेत कतारले शुभकामना दिएको छैन। ‘विगतमा नेपाली फुटबललाई कतारले बारम्बार सहयोग गर्दा, जतिबेला पनि विवादमा ल्याउने काम नेम्वाङ समूहबाट भयो, त्यसै कारण कतार उहाँसँग सहकार्य गर्न डराइरहेको छ,’ उच्च श्रोतले दृश्यटिभीसँग भन्यो। 

कतारको बुझाई छ, नेपाल साफ च्याम्पियन्सिपका लागि माल्दिभ्स जानुअघि प्रशिक्षकलाई विवादमा तान्न नेम्वाङ समूहले योजनाबद्ध रूपमा काम गर्यो। त्यतिबेला नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवी राजकर्णिकारको मध्यस्थतामा नेपालस्थित कतारी राजदूतको प्रयासमा समाधान खोज्ने कार्य भएको थियो। तर, बैठकमा नेम्वाङ अनुपस्थित भएर असहयोग गरेका थिए। त्यसलाई अहिले पनि कतारले आफूहरूलाई उपेक्षा गरेको रूपमा बुझेको छ। 

नेम्वाङ निर्वाचित भएपछि पहिलो कार्यसमितिबाट विदेश विभागमा नियुक्त भएका नवीन पाण्डेको विषयमा पनि कतार त्यति सन्तुष्ट छैन। उनले प्रो–लाइसेन्स प्राप्त अल–मुताइरीलाई फुटबल सिकाउन नआउने भन्दै कूप्रचार गरेको र नेपाली फुटबल विकासमा कतारले गर्न खोजेको सहयोगलाई विवादमा तान्ने काम गरेको रूपमा हेरेको छ। 

प्रशिक्षक तथा कतारको विषयमा उनले आफ्नो सोसल मिडियामा राखेको विचारलाई पनि कतारले संवेदनशील भएर हेरेको छ। एन्फा निर्वाचनमा फिफाले भ्रष्टाचारकाे मुद्धामा १० वर्ष कार्यवाही गरेकाे गणेश थापा पनि सक्रिय भएकाे भन्दै कतार शस‌कित देखिएकाे हाे। 

हाल कतारले नेपाली फुटबललाई कोचिङ कोर्ष, प्रो–लाइसेन्स कोर्ष, विदेशमा क्लोज क्याम्पमा बस्न ट्रेनिङको सम्पूर्ण सुविधा, रिहाव ट्रेनिङ र मेडिकल ट्रिटमेन्टको सुविधा दिँदै आएको छ। नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकका लागि तलब पनि उसैले उपलब्ध गराउँदै आइरहेको छ। 

यस्तै, लिग सञ्चालन गर्न कतार एयरलाइन्सले वार्षिक १ लाख ५० हजार डलर उपलब्ध गराउँदै आइरहेको छ। ‘नेपालसँग सहकार्य गर्ने कि नगर्ने विषयमा दुविधा छ। यो सहकार्य समाप्त पनि हुनसक्छ,’ श्रोतले भन्यो।    
 

प्रतिक्रिया