के युपी चुनावमा मोदीको जादू चलेकै हो? 

लखनउ, एजेन्सी । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश (युपी) चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले पुनः एकपल्ट बहुमत सिद्ध गरेको छ। युपीको सफलतासँगै भाजपा यस क्षेत्रमा लगातार दोस्रो पल्ट बहुमत प्राप्त गर्ने पहिलो राजनीतिक पार्टी पनि बन्न पुगेको छ। 


चुनावअघि देशब्यापी रूपमा चर्किएको किसान आन्दोलन र बढ्दो महंगीका कारण भाजपाको पराजय निश्चित मानिएको थियो। तर, पछिल्लो दिनमा त्यस्तो के भयो, जसका कारण ‘भगुवा रंग’ पुनः युपीको सत्तामा स्थापित भयो, यो अहिले चर्चाको रोचक विषय बनेको छ। 


चुनावअघि भारतका थुप्रै मिडिया च्यानलहरूले भाजपाको सम्भावित पराजयलाई लिएर रिपोर्ट प्रकाशित गरेका थिए। यसमा धेरै जसो मिडिया कांग्रेस समर्थित थिए। तर, मिडिया रिपोर्ट विपरित भाजपाले ४ सय ३ मध्ये २ सय ७३ सिट जितेर बहुमत प्राप्त गर्यो। अंकको हिसाबले सन् २०१७ को चुनावभन्दा भाजपाको सिट संख्या घटेको देखिन्छ। गत चुनावमा भाजपाले ३ सय २५ सिट जितेको थियो। यसपालि भाजपाले ५२ सिट कम जितेको छ। तर, उसले कीर्तिमानी ४१ दशमलव २ प्रतिशत भोट प्राप्त गरेको छ। युपी चुनावमा बहुमत सिद्ध गर्न २ सय २ सिट आवश्यक पर्ने गर्छ। यस हिसाबले भाजपाले युपीमा पुनः दह्रो उपस्थिति जनाएको स्पष्ट देखिन्छ। 


आखिर यो सम्भव कसरी भयो? 


यसलाई बुझ्न युपी चुनावको गतिविधि नजिकबाट अवलोकन गर्न जरुरी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले युपी चुनावको प्रचारका लागि करिब १६ हजार ८ सय ३६ किलोमिटरको यात्रा तय गरेका थिए। केही राजनीतिक विश्लेषक युपी चुनावमा मोदीको जादू फेरि चलेको बताउँछन्। पश्चिमी युपीदेखि पूर्वाञ्चलसम्म १ सय ३४ सिटमा भाजपालाई जित दिलाउन मोदीको भूमिका विशेष रहेको धेरैको दावी छ। उनी यो क्षेत्रमा हिन्दुत्वको सन्देश पुर्याउन सफल भएको दावी विश्लेषकहरूले गरेका छन्। 


मोदीले पहिलो चरणको प्रचारअन्तर्गत २० दिनभित्र १९ सभा गरेका थिए, जसमा १ सय ९२ सिटमा आफ्नो कुरा स्थानीय जनतासमक्ष पुर्याउन उनी सफल भएको भारतीय अखबारहरूको विश्लेषण छ। समाजवादी पार्टी (सपा) का अध्यक्ष अखिलेश यादवले पनि यस क्षेत्रमा मोदीको जादूलाई रोक्न ‘म्याराथन’ सभा गरेका थिए। तर, नतिजा उल्टो आयो। अखिलेशको ‘क्रेज’ यस क्षेत्रमा फिका हुँदै गएको स्पष्ट भयो । 


प्रधानमन्त्री मोदीले यसपालि वाराणसी चुनाव क्षेत्रमा हात जोडेर भोट माग्दै गरेको दृश्यले सबैको ध्यान खिचेको थियो। उनले १० फेब्रुअरीमा सहारनपुरबाट चुनावी यात्राको सुरुवात गरेका थिए, जुन ५ मार्चमा पुगेर मात्र टुंगिएको थियो। यसअवधिमा उनले योगी आदित्यनाथलाई दोस्रो पल्ट मुख्यमन्त्री बनाउन अपील गरेका थिए। उनले आफ्नो भाषणमा मुख्यमन्त्री आदित्यनाथले युपीबाट माफियाराजको अन्त्य गरेको र सपाको शासनकालमा भएका गुण्डागर्दी समाप्त पारेको सम्झना सबै मतदातासमक्ष पुर्याउन खोजेका थिए। 


युपी चुनावमा गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहलगायत भाजपाको पुरै संगठन चुनावी मैदानमा उत्रिएको थियो। स्वयम् योगी आदित्यनाथले १८ हजार २ सय किलोमिटरको चुनावी यात्रा तय गरेका थिए। उनले यसअवधिमा ७३ जनसभालाई सम्बोधन गरे। 


यसपालि अखिलेशले पनि कम मेहनत गरेका होइनन्। उनले २० दिनमा ९८ जनसभालाई सम्बोधन गरेका थिए। जनसहभागिता पनि राम्रो जुटेकै हो। पश्चिम युपी, अवध र पूर्वाञ्चलमा सपाले भाजपालाई कडा टक्कर दिएको थियो।

भारतीय कांग्रेस पार्टीकी नेता प्रियंका गान्धीले पनि युपी चुनावमा निकै मेहनत गरेकी थिइन्। उनले २ सय ९ सिटमा ५० वटा जनसभाको आयोजना गरेकी थिइन्। तर, यसले मतदातामा खासै प्रभाव परेन। 
 

प्रतिक्रिया