एमसीसीमा एमालेः १२ बुँदामा १२रै बुँदाको टिप्पणी

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाबाट एमसीसीसँगै अनुमोदन भएको १२ बुँदे व्याख्यालाई त्यति नै बुँदामा टिप्पणी गर्दै आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनमा २०७८ फागुन १५ गते अनुमोदन भएको एमसीसी र व्याख्यात्मक प्रावधानबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमन्त्री ओलीले भने– ‘यस घोषणासँगै निहीत स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारवाजीको पटाक्षेप भएको छ ।’

एमालेको धारणाका मुख्य अंश

– फागुन १५ गतेको प्रतिनिधिसभा बैठकका दुबै सत्रमा हाम्रो पार्टीलाई प्रक्रियामा सहभागी हुनबाट बञ्चित गरियो । यसले देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी गठबन्धनको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ ।

– संसद्मा माननीय सदस्यहरुको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको विजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकुल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो । षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ ।

– गठबन्धनका केही दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भड्काउने र जनतामा अन्यौल सिर्जना गर्ने कार्य गर्दै आए, विषाक्त प्रचारबाजी गरे । द्विपक्षीय विषयलाई भूराजनीतिक विषयजस्तो बनाइयो । चौबीस घन्टाअघि उनीहरुले सत्ता छोड्ने तर सहमति नगर्ने पनि भन्न   भ्याए । २४ घण्टापछि उनीहरुमा ‘दिव्यज्ञान’ पलायो र शुरु भयो अर्को स्पष्टिकरणको सिलसिला–पद जोगिनु क्रान्ति, पद जानु प्रतिक्रान्ति ! गठबन्धन ढले आपूm ढल्ने, आप्mना हितैषीहरुको पनि पद जाने भएकोले समर्थन गर्नुको विकल्प नरहेको वयानबाजी गरे ।

– प्रतिनिधिसभाको बैठकमा प्रस्तुत ‘व्याख्यात्मक घोषणा’ शाकाहारीले ‘कितावको माछा पो खान हुन्न, खोलाको त भइहाल्छ नि’ भनेजस्तै हो । गठबन्धनका नेताहरु त्यस घोषणालाई लालीपाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय छन् । दुई सरकारबीच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फी व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास हो र यो हास्यास्पद कुरा हो । यो तथ्य प्रतिनिधिसभाको बैठकमा सत्तापक्षीय केही माननीयहरुद्वारा समेत अभिव्यक्त भएको छ । यस सम्बन्धमा एमसीसी आफैँले वक्तव्य दिएर यस्ता कथित घोषणाले सम्झौतामा कुनै फरक नपार्ने कुरा स्पष्ट पारिसकेको छ । तर, अझै पनि केही नेताहरु ‘व्याख्यात्मक घोषणा’ हिजो आपूmले गलत थियो भनिएको एमसीसीलाई दुरुस्त पार्ने भ्याक्सिनका रुपमा प्रचार गर्न खोज्दै छन् । यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो । हामी केही नेताहरुका ‘लत्रिएका जुँगा’लाई ‘ठाडो पार्ने हतियार’का रुपमा संसदीय अभ्यासलाई विकृत पार्दै दुरुपयोग गरिएकोमा दुःखित छौँ ।

– एउटा तथ्यमा हामी सबै स्पष्ट हुनुपर्छ, एमसीसीसम्वन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो । गलत मनशायमा आधारित त्यस ‘अभियान’ले झण्डै तीन वर्षदेखि नेपाली जनमानसलाई अनावश्यक ढङ्गले गिजोल्यो, विभाजित गर्यो ।

– एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरे । यसलाई विवादास्पद पनि तिनै गठबन्धनका नेताहरुले बनाए । सम्झौता आफूले गरे, जनताले जवाफ माग्दा उत्तर दिनुको साटो प्रश्न एमसीसीतिर तेस्र्याए ।

नेपाललाई चाहिने कुनै पनि विकास अभियान सञ्चालन गर्न हामी नेपाली सक्षम र स्वतन्त्र छौँ । नेपालको संविधान जारी भएसँगै नेपाल विकास र समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ ।

– सरकार भनेको राज्यका तर्फबाट अधिकारप्राप्त अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । एउटा सरकारले दातृराष्ट्र या निकायसँग गरेको सहमति वा सम्झौता अर्को सरकारले उपयुक्त कारण र प्रक्रियाविनै रद्द गर्ने हो भने त्यस्ता राष्ट्रप्रति विश्वासको सङ्कट उत्पन्न हुन्छ । 

– ‘सरकारले गरेको सम्झौता सुटुक्क लागू गर्न छोडेर संसद्मा किन पेश गरियो’ भन्नेजस्ता छली प्रवृत्तिसँग नेकपा (एमाले सहमत हुन सक्दैन । त्यसै कारण यो संसद्मा अनुमोदनका लागि प्रस्तुत गरिएको थियो ।

– एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूलन हुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।

– मुलुकको विकासका लागि दूरदृष्टिसहितको बलियो राष्ट्रिय सङ्कल्प चाहिन्छ । त्यो सङ्कल्प पूरा गर्न राष्ट्रिय दृष्टिकोण र अडान भएको बलियो राष्ट्रिय पार्टी चाहिन्छ । दरिलो राष्ट्रिय एकता कायम गरी विकास अभियान सञ्चालन गर्न कुण्ठा एवम् स्वार्थप्रेरित अतिरञ्जनापूर्ण प्रचारबाजीबाट मुक्त हुनु आवश्यक छ । एमसीसी प्रकरणमा गठबन्धनमा रहेका केही पार्टीका गलत चालवाजी र उनीहरुबाट प्रकट भएका घातक प्रवृत्तिबाट मुलुकलाई मुक्त पार्न आवश्यक छ । ती दलहरुसँग आस्थाका कारण भावना जोडिएका निर्दोष कार्यकर्ताहरु अझै हुनुहुन्छ । सङ्कीर्ण राजनीतिक स्वार्थका लागि भ्रमको पर्दा खडा गरेर आफ्ना कार्यकर्तालाई बारम्बार दुरुपयोग गर्ने नेतृत्वबाट सचेत रहँदै बलियो राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्नका लागि हाम्रो पार्टी त्यस्ता कार्यकर्ता तथा सदस्यहरुलाई आह्वान गर्दछ ।


 

प्रतिक्रिया