राष्ट्रिय योग दिवस २०८० र भक्तपुरमा योग सप्ताह

 

rokat basnet copyनवौँ राष्ट्रिय योग दिवस २०८० लाई नेपाल सरकारको शिक्षा मन्त्रालय, विभिन्न मन्त्रालय तथा कार्यालयहरुले, योगसाधनामा तल्लीन योगीहरु, योगशालाहरु, ध्यान केन्द्रहरुले  योग सप्ताहका रुपमा मनाएर शैक्षिक, रचनात्मक, आध्यात्मिक जनचेतना मूलक कार्यक्रमहरु गर्दै भव्यतापूर्वक सम्पन्न गरेका छन् ।               

माघ १ गतेलाई औपचारिक रुपमा राष्ट्रिय योग दिवशका रुपमा मनाउने व्यवस्था नेपाल सरकारले नौ वर्ष पहिले नै गरेको हो ।  औपचारिक र अनौपचारिक दुवै तवरबाट साधनाको ज्ञान, योगाभ्यासको महत्व, योगको आध्यात्मिक वैदिक परम्पराको प्रचार, आधुनिक युगमा यसको आवश्यकता जस्ता विविध पक्षहरुमा प्रकाश पार्दै माघ १ गतेदेखि शुरु गरिएको योग सप्ताह औपचारिक रुपमा माघ ६ गते भक्तपुर जिल्लको कार्यक्रम समापन भक्तपुर दरबार स्क्वायरमा गरिएको छ । 

राष्ट्रिय योग दिवस २०८० को समापनका अवसरमा  आयोजना मूल समारोह समितिले ¥्यालीको आयोजना गरेको थियो । माघ ६ गते शनिबार बिहान ७ वजे आयोजित समापन कार्यक्रम राष्ट्रिय योग दिवस २०८० को मूल समारोह समितिको ब्यानरमा सजिएको थियो । गरौँ योग ! रहौँ निरोग !!!  भन्ने नाराका साथ  आयोजक नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय  थियो । यसको संयोजन योग जिल्ला समन्वय समिति, भक्तपुरले गरेको थियो । सप्ताहको समापनका लागि योग–ध्यान आरोग्य सञ्जाल नेपाल , विभिन्न यौगिक संस्थाका प्रतिनिधिहरु, योगध्यान तथा आरोग्य विधामा विशिष्ट ज्ञान हासिल गर्नुभएका समाजका प्राज्ञवर्गको उपस्थिति, पातञ्जल योग समिति, पतञ्जलि योग समिति, महिला पतञ्जली योग समिति, युवा समिति नेपाल, भक्तपुर,   योग साधना केन्द्र, जीवन विज्ञान, ठिमी जीवन विज्ञानका प्रयोगशालाहरु र ओशो तपोवन लगायत अन्य थुप्रै संघसंस्था र व्यक्तिहरु सहभागी भएका थिए । 

शिद्धपोखरीबाट शुरु भएको ¥यालीमा  भक्तपुर जिल्लाभित्रका सरकारी कार्यालयका प्रमुखहरु, कर्मचारीहरु, योग साधक योगीहरु, योगसँग सम्बन्धित संघसंस्थाहरु, प्रशिक्षणशालाका संस्थापकहरु, प्रशिक्षकहरु, साधनामा चासो राख्ने सर्वसाधारण महानुभावहरुको सहभागिताले निकै रौनकता छाएको थियो ।  ठूलो संख्यामा उपस्थित योग साधकहरुले भक्तपुर दरबार स्क्वायर र प्राङ्गण निकै खचाखच भरिएको थियो । आहा आहा भो जीवन आहा आहा भो भन्ने संगीतको तालमा गल्लीगल्लीमा  लामबद्ध हुँदै नाचेर  योग अभ्यासका माध्यमबाट जीविनमा आएको आनन्द र  नृत्य कौशलता वृद्धवृद्धा र नवयुवकहरुले सडकमा लामवद्ध भएर देखाएका थिए । समापन कार्यक्रमा नवराज काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।  योगका वरिष्ट प्रशिक्षकहरुले मन्तव्य राखेका थिए भने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले योग सप्ताहको कार्यक्रम समापन गर्नु भएको थियो ।  

योेग  के हो र साधना किन आवश्यक छ त ?
गीतामा उल्लिखित यस उपवाक्यले योगःकर्म सुकौशलम् अर्थात् कुनै पनि कार्य कौशलता पूर्वक गर्नु योग हो भन्ने अर्थ दिन्छ ।  योग सँस्कृत शब्द हो । युज धातुमा घञ प्रत्यय लागेर योग शब्द बन्दछ । यसको शाब्दिक अर्थ जोड्नु हो । जीवात्मा र परमात्माको समताको अवस्था योगको गहिराइ मानिन्छ । समाधिको अवस्थामा मात्रै यसको सम्भव देखाइएको छ । जुन मोक्षसँग सम्बन्धित छ ।  वैदिक परम्परामा योग शब्दमा आधारित साहित्य र ग्रन्थहरु प्रशस्तै छन् ।

गीतालाई योगको आध्यात्मिक आधार मानिन्छ । गीतामा योगलाई ४ प्रकारले नियोग गरिएको छ । ती हुन् – कर्मयोग, भक्तियोग, ज्ञानयोग र राजयोग । नाथ, दिलदास, सन्यास परम्परा लगायत विभिन्न आध्यात्मिक सम्प्रदायले हठयोग, मन्त्रयोग, लययोग गरेर पनि भेद गरेका छन्  । वैदिक परम्पराका साहित्यमा योगलाई वैशेयिक र परमार्थिक गरेर दुई भेद उल्लेख छ । वेदलाई मान्ने ६ वटा दर्शनहरु (षड्दर्शन) न्याय, वैशेशिक, सांख्य, योग, मिमांशा र वेदान्त मध्ये योग एउटा प्रयोगात्मक र्दशन हो । हिरण्यगर्भा, कपिल, वेदव्यास र पतञ्जली योग रचनाकार, व्याख्याता र संकलनकर्ताका रुपमा चर्चित महर्षिहरु हुन् । योग सांख्य दर्शनसँग सम्बन्धित छ ।

पतञ्जली योग सूत्रमा योगश्चित्तवृत्तिनिरोधः अर्थात् चित्तका वृत्तिहरु निरोध भएको अवस्था योग हो भनिएको हो । नेपाललगायत अन्य देशहरुमा पतञ्जली योग सूत्रमा उल्लेखित अष्टाङ्गिक योगको अभ्यास गरिन्छ । अष्टाङ्गिक योगमा यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा ध्यान र समाधी उल्लेख गरिएको छ । वैदिकबाहिर पनि  योगको अभ्यास र चर्चा हुन्छ । बुद्ध धर्म परम्परामा पनि दुःख निवारण गर्न अष्टाङ्गिक सम्यक मार्ग उल्लेख भएको छ । दृष्टि, संकल्प, वचन, कर्म जीविका, व्यायम, स्मृति र समाधि जस्ता सम्यकहरुलाई  आर्य अष्टाङ्गिक योग मार्ग भनिएको पाइन्छ । 

महोपनिषदमा योगले मनमा आएका विभिन्न वृत्तिहरुलाई रोक्ने, जडता र बृद्धीलाई रोक्ने भाव, शरिर र कर्म जोड्ने, मन र मस्तिष्कलाई समेट्ने, भाव र कर्ममा एकरुपता ल्याउने, शरीरका अंगहरुलाई सुगठित र कृयाशील बनाउने, जीवन दर्शनलाई साधा र चिन्तामुक्त बनाउन सहयोग गर्दछ । जसको परिणामस्वरुप जीवन  मानसिक रुपमा स्वस्थ र शारीरिकरुपमा निरोगी बन्दछ । योगले परापूर्वदेखि हालसम्म पनि जनमानसमा यही विश्वास र छाप राख्न सकेको छ । राष्ट्रिय योग दिवस २०८० को योग सप्ताहको सन्देश पनि यही नै हो । हरि ॐ !!
 

प्रतिक्रिया